भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आस्थाका फूलहरू / शारदा शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सीमा नभत्काउनु
त्यसभन्दा वारी
मान्छेको बस्ती छ
म तिमीलाई
देवता भनेर पत्याइरहन चाहन्छु ।

नजिकबाट
कमी कमजोरीले व्याप्त
निर्वस्त्र
तिमी,
हामीजस्तै साँगुरो र अपूरो देखिनेछौँ सम्भवतः
म तिमीलाई
औसत मान्छेभन्दा बेग्लै
विराट,
सम्पूर्ण देख्न चाहन्छु ।

मान्छेका बस्तीमा घाम अस्ताउँछ सधैँ
ऋतुहरु फेरिरहन्छन् चक्रवत्
फक्रन्छन् र झर्छन् फूलहरु
आफ्ना अनन्त अभावका सामु
नतमस्तक छ मान्छे
विवश छ ।

आरोपण गरेर
सर्वशक्तिवत्ताका सम्पूर्ण देवत्व रुप
त्रुटिमुक्त र अनिन्द्य
म तिमीलाई
नित्य,
अविनाशी भनेर ठम्याइरहन चाहन्छु ।

यहाँ
स–साना निहुँमा
असीमित घृणा गर्छन् मान्छे एक अर्कालाई
अथाह माया गर्छन्
विजयका खुशी र पराजयका दुःखले अभिभूत
तिनका प्रत्येक प्राप्ति र अप्राप्ति सापेक्ष छन्
कमजोर मान्छेदेखि सर्वथा भिन्न
तिमी
सर्वशक्तिमान र अजेय भनेर
मान्छेका अनिवार्य विरामहरुलाई
म अर्थ र औचित्य दिन चाहन्छु ।

विश्वास नभत्काउनु
त्यसभन्दा वारी
मान्छेको बस्तीमा
हरिया आस्था लहलहाएका छन्
आस्था ओइलायो भने
आगो लाग्नेछ यस बस्तीमा
मान्छे आफ्नै उर्जाले सल्कनेछ र सखाप हुनेछ ।

नचिनिने नबुझिने गरेर
तिमी दूरीमै बस्नु
आफ्ना भावनामा आरोपण गरेर
सजाएर प्रतिकहरुमा
म तिमीलाई जताततै छर्छु र पूजा गर्छु