आस्था भत्किएपछि / दीपक शम्चू
घुम्टो ओढेर बादलको
पैँयु, गुराँस र बुकी फूलको बास्ना लिदै
सल्लाहरूसँग साउती मार्दै
छङ्-छङ् चाँदनी झरना बगाइरहने पहाड भेटेपछि
म पनि पहाडसँगै यात्रामा निस्किएँ
चुचुरामा पुगूँ भनेर
तर, पहाडले कहिले दिएन सिँढी ।
फेरि, केही पर क्षितिजमा
पहाडभन्दा अझ बढी चुलिएर
मुस्कुराइरहेको हिमाल देखें
मेरो मन हलुका उड्दै-उड्दै गएर
चुम्न खोज्यो हिमालको उचाइ
उसले पनि शिर झुकाएर
लिन चाहेन मेरो चुम्बन |
शिखरहरू माझ
तुहिन थालेपछि अभिलाषा
आफू छेवैमा फुलेको फूल सजाउन खोजें
कुरूप पारेको रहेछ सौन्दर्य
झुसिल्किराले ।
थाहा थिएन मलाई
पहाड चढ्दा उसकै आँखाको कसिङ्गर बन्छु
हिमाललाई अँगालो हाल्दा उसकै वैरी घाम बन्छु ।
अब मलाई
चढ्नु छैन पहाड
चुम्नु छैन हिमाल
टिप्नु छैन कुनै फूल ।
बनाउनु छ बरू
अर्को प्राञ्जल संसार ।
०००