ईश्वर / विमला तुम्खेवा
धर्मका पादरीहरु
आस्थामा कलङ्क लाग्नु हुन्न भन्दै
तिमीले रचाएको युद्धहरुमा
म—
केवल मान्छे भएर बाँच्न चाहन्छु
म —
केवल मान्छे भएर मर्न चाहन्छु
दर्शनहरुको विरूद्धमा
आँसुको रङ्ग उस्तै देखेकी छु
नसा–नसामा बग्ने रगत उस्तै भोगेकी छु
अझ फेरि —
मान्छेको मनमा किन जातिको सिमाना कोर्छौ ?
भन ईश्वर —
तिम्रो पाउमा मर्ने पशुको आँसु
र मान्छेको आँसु उस्तै छैन र ?
म —
रातो रगतमा बाँच्न चाहनेहरुको भीडबाट
गीता, बाइबल र कुरानबाट
आँसुको विरूद्धमा लेखिएको
मान्छेको विरूद्धमा रचिएको
दर्शनलाई च्यात्न चाहन्छु
एकपटक बाँचेर हेर नदीजस्तै गतिशील भएर
चेतना पाएर बाँच्दैमा
अहम् भएर बाँच्ने ए मान्छे र ईश्वरहरु
म —
तिम्रो धर्मबाट विमुख हुँदैछु
म —
तिम्रो विरूद्धमा निलम्बन हुन मञ्जुर छु
के पशुको रगत र मान्छेको रगत उस्तै छैन र ?
के मान्छेको आँसु र पशुको आँसु उस्तै छैन र ?