भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

उज्यालोको चौकीदारी / कृष्ण प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यतिखेर
सम्पूर्ण ताताहरु हराएका थिए ।
समस्त उज्यालाहरु बिलाएका थिए ।
र समग्र न्यानाहरु चोरिएका थिए ।
समान न्यानो बाँड्ने सूर्यसमेत सेलाएको थियो ।
जसको उपस्थितिमा
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल
चिसोका साम्राज्यहरु पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर
अनि हिमपात बर्साएर
र सिरेटो छर्केर
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका
मान्छेहरु भने
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै
आकाशले चोरेका हाम्रा न्यानाहरु
धर्तीमै फर्काउन भनेर
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौँ ।
सभा लगाइरहन्थ्यौँ ।
र नारा घन्काइरहन्थ्यौँ ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरु
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरु पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरु त्यसबेलासम्म पनि
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरु -
हामी फिर्ता लिने तरखरमा थियौं ।

Õ Õ Õ Õ

हुँदा-हुँदा
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरु
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरु विनाशर्त आकाशले फिर्ता दियो ।

Õ Õ Õ Õ

अहिले पनि हामी एक हूल मान्छेहरु छौं ।
जो धर्तीमा फ्याँकिएकॊ त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर
अहिले हामी
उज्यालोको चौकीदारीमा छौं ।