भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उत्खनन् / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरा अस्तित्वका अंशहरू !
उडिरहेको पुतलीको आँखाले संसार हेर्नू
खुशी हुनू !

हरियो पातमा लेख्नु आफ्ना रहरहरू
आमालाई माया गर्नू !

घामसँगै उठ्नू
जीवनका गृहकार्यहरू राम्रोसँग गर्नू !

कहिलेकाहीँ बहिनीहरूलाई काखमा लिनू
कोरिबाटी गरिदिनू
बेलाबेला गमलामा पानी हाल्नू
आफैँसँग हुर्काउनु कलिला मुनाहरू !

वर्षातमा धेरै टाढा ननिस्कनू
आँगनमा घाँस उम्रेला
निस्केला छिमेकीको बारीबाट बिषालु सर्पहरू !

कहिलेकाहीँ
मिलाएर यात्रा गर्नू
अन्धकारदेखि भयभीत नहुनू
नआत्तिनू - जहाँ साँझपर्छ त्यही घर हो !

अर्काको अनुहारमा आफुलाई खोज्ने भूल नगर्नू
अर्काको हाँसो नचोर्नू !

सबै परिबन्दहरू सामान्य हुँदैनन्
पहाड जस्ता जटिलताहरू बाटोमा छन्
हिँड्न नछाड्नू !

आफुतिर आइरहेको बतासलाई म सम्झनू
हिँडिरहेको बाटोलाई म सम्झनू
शून्य आकाश र अदृश्य वायुमण्डललाई म सम्झनू
स्मृति एक दुर्लभ सम्पदा हो
मलाई केवल सम्झनाहरूमा सम्झनू !

मेरा वंशजहरू !
मेरो पाईताला पछ्याउँदै नभौंतारिनू
मेरो हड्डी खोज्दै नहिँड्नू
मेरो खप्परको अनुसन्धानमा समय खेर नफाल्नू
कृपया - मेरो उत्खनन नगर्नू !

समयले समयलाई खोज्दै हिँड्यो भने
इतिहासले इतिहासलाई खोज्दै हिँड्यो भने
बाटोले बाटोलाई खोज्दै हिँड्यो भने
रहस्यले रहस्यलाई खोज्दै हिँड्यो भने
के हुन्छ ?

यो धर्तीमा
बारम्बार कुहिएर
झोल हुँदै
लेदो हुँदै
जुन पदार्थमा परिणत भएँ म,
अहिले त्यहाँ
फुलेको छ एउटा गुमनाम फुल !

जो, फेरि झर्नेछ
र फेरि कुहिनेछ
.....फेरि फुल्नेछ ।

त्यसैले मेरो उत्खनन नगर्नू !

०००