भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उत्खनन / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कसले पत्ता लगायो अमेरिका
– कोलम्बसले ?
कसले मुक्त गरायो भारत
– गान्धीले ?
अथवा–
कसले रच्यो महान् चीन
– कन्फयुसियसले ?
– माओत्सेतुङले ?

अहँ ! कदापि मान्दिनँ म ।

कसले उभ्यायो धरहरा ?
कसले बनायो घण्टाघर र रानीपोखरी ?
कसले लड्यो नालापानी ?
अथवा–
कसले आज्र्यो यो मुलुक ?

यो माटोभित्र उम्लिरहेको रगतको आवेग
– कसको हो ?
यो महलको चोटा–चोटाबाट आइरहेको पसिनाको गन्ध
– कसको हो ?
यी दरबारका भव्य झ्याल–ढोकाहरूमा
 
– कस कसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
– कस कसका औँठाका शङ्ख–चक्रहरू छन् ?
एक एक खुट्याउनु छ– इतिहासको खुनी अनुहार

चिन्नु छ–
को हो असली निर्माता ?
को हो असली शहीद ?
को हो असली नेता ?
को हो असली कवि ?
कुन हो असली गीत ?