उद्योगमै छ सचराचर नित्य सक्त ।
प्राब्रह्म कीटतक उद्यमके छ भक्त ॥ 
उद्योग नै छ सुखको परिपूर्ण वास । 
उद्योग गर्दछ नयाँ युगको विकास ॥१॥ 
उद्योगबाट नहुने चिज भन्नु के छ? 
उद्योगमै भुवनकोष जमीरहेछ । 
उद्योगमै रवि शशी, ग्रह, वायु पृथ्वी । 
घुम्छन् नदी, जलधि, बादल गर्छ वृष्टि ॥२॥ 
जो कारवार र विधि-व्यवहार खास । 
देखिन्छ लोक जसको छ सदैव दास ॥ 
त्यो हो समस्त बुझ उद्यमकै निराला । 
मानन्ददायक मनोहर रूपमाला ॥३॥ 
उद्योगको छ गहिरो महिमा अपार । 
उद्योग नै छ दुनियाबिच मुख्य सार ॥ 
उद्योग - बादिहरुकै सुविचारद्वारा । 
संसारमा छ बहँदो सुख शान्तिधारा ॥४॥ 
जो सभ्य देशहरु आज समृद्धिशाली । 
छन् ती सबै प्रबल उद्यम नै निकाली ॥ 
संसारका विच प्रसिद्ध र स्वर्गतुल्य । 
भूखण्डको मुकुटमा मणिझै अमूल्य ॥५॥
 
कोदालि वा कलम वा कल कारखाना । 
व्यापार नोकरि कला व्यवसाय नाना॥ 
उद्योगकै सफल हुन् भरिलो खजाना । 
उद्योगकै जगत गाउंछ सौम्य गाना ॥६॥ 
आलस्यको परम दुश्मन यत्नगम्य । 
गद्योग कल्पतरु यो छ प्रतीव रम्य ॥ 
या यत्नशील छ परिश्रम सक्त धीर । 
सत्साहसी भयविहीन बड़ो गंभीर ॥७॥ 
सोही महाशय चढी तहि वृक्षमाहाँ । 
सौभाग्यको सुफल टिप्तछ खूब याहाँ॥ 
सोही मनस्वि जनको सब प्राश गर्छन् । 
त्यैमाथि ईश्वर सदैव सुदृष्टि धर्छन् ॥८॥ 
तस्मात् म भन्दछु सबैसित प्रेमसाथ । 
उद्योगका तरफ खब बढाउ हात ॥
उद्योगका बन उपासक कीर्ति गाऊ ।
उद्योग गर्नतिर मात्र सदा रमाऊ ॥९॥ 
खाली बसी दिन नकाट समाल होश । 
आलस्यको नबन दास निकाल जोश ॥ 
भन्छन् श्रुतिस्मृति पुराणहरू अनेक । 
कल्याणकारि शुभ-मार्ग यही छ एक ॥१०॥