उपहार नानीहरुलाई / सुदीप पाख्रिन
म मेरा नानीहरुलाई
खेलाउन दिइरहेको छु— कविताहरु ।
नानीहरु पनि खेलिरहेका छन्, एकधूनले
कहिले भाडाकुटीझैँ बनाएर
कहिले गुडियालाईझैँ बिहे गरिदिएर
कविताहरुलाई ।
म निश्चिन्त छु्
जब अघाउनेछन् उनीहरु
यी भाडाकुटीका खेलहरुबाट
उनीहरु आफैले तिखार्नेछन्
यी कविताहरुलाई
बनाउनेछन् धारिला
— एकदमै धारिला
र रेट्नेछन् ती क्रुर गर्दनहरु
जो बिनसित्ती अग्लिरहेका छन्
हाम्रै श्रमका हिमालहरु टेकेर
र अट्टाहास लगाइरहेका छन्
हाम्रै कविताहरुलाई हेरेर उहिल्यैदेखि
म मेरा नानीहरुलाई
खेलाउन दिइरहेको छु— कविताहरु ।
म ढुक्क छु
जब साँच्चै अघाउनेछन् उनीहरु
यी गुडियाका खेलहरुबाट
उनीहरु आफै
यी गुडियाहरुलाई पखेटा दिनेछन्
र उडाउनेछन् कावा खुवाउँदै नीला आकाशहरुमा
र, उभ्याउनेछन् यिनीहरुलाई
तिनीहरुको विरुद्ध
जसले काटेर यसका पखेटाहरु
फ्याँके कुनै अँध्यारो कुनामा
फेरि कहिल्यै उड्न नपाउने गरी पहिल्यै
म मेरा नानीहरुलाई
खेलाउन दिइरहेको छु— कविताहरु ।