उसको भागमा जिन्दगी / जसराज किराती
जिन्दगी उसको आर्तनाद कराउँछ
भित्ता, पर्खाल र ढोकाहरुमा
जिन्दावादका नाराहरु
टाङ्दै, झुण्ड्याउँदै कोही यता आउँछ
कोही त्यसलाई च्यात्दै, मिल्काउँदै र बदलामा
मूर्दावादका नाराहरु थपाथप राख्दै उता जान्छ
यो सडकमा
चोक र चौरस्तामा
रङ्गीचङ्गी पोशाक भिरेका हुलका हुल मान्छे
नर वा वानर
यता दौडिन्छ
उता दौडिन्छ
कसले कसलाई कुल्चियो
को, कोमाथि लड्यो वा पल्टियो
कसैलाई कसैको ख्याल छैन
कसैको पनि छातीमा स्नेह वा ममताको धड्कन छैन
फगत् आ–आफ्नो जर्जर स्वर झिकेर
कोही जिन्दावाद कराउँछ
कोही मूर्दावाद कराउँछ
यता एक छेऊमा
खर्पनमा खरेटो राखेर अघिदेखि टोल्हाइरहेको
ज्यापूको जिन्दगी भित्रभित्र आर्तनाद कराउँछ
(ख)
जिन्दगी उसको बारुद गन्हाउँछ
न त कहिले ओंठमा मुस्कान खुलेको छ
न त छातीमा वसन्त फुलेको छ
तैपनि–
बाँच्न त पाइन्छ भनेरै उसले
ठेलागाडी मरी–मरी घचेटेको छ
बगरको ढुङ्गा र गिटी सकिनसकी अचेटेको छ
अफशोच !
न उसले अघान्जेल भात खान पाउँछ
न उसले न्यानो रात बिताउन पाउँछ
हो, यसरी
आजकाल त उसलाई आफ्नै जिन्दगी पनि
कसो कसो बारुद गन्हाउँछ ।