उ इश्वर फूटाइरहन्छे / सीमा आभास
जून–घामलाई नानीको बाउ भनेपछि
अपराधीलाई झैँ घरबाट निकालिएकी
गाउँबाट विस्थापित ऊ
नदीकिनारमा ताराहरु जम्मा पारेर
गट्टा खेलाउँछे नानीलाई
पानी खुवाउँछे जूनको कचौराबाट
सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुन्डोलाई ।
नानीकै मुहारबाट उदाउँछ घाम
ऊ रुँदा होस् या खुसी हुँदा
बन्छन् देवताका हजार रूप ।
पहिलो पटक
कुन कालिगढले कुँद्यो होला भगवान् ?
कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ?
कसले राख्यो होला चुपचाप बस्नू भनेर मन्दिरमा ?
बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे,
यो पत्थरमा लुक्ने भगवान्
कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ?
सलसली हुर्किरहेको यस जूनलाई
बादलको मजेत्रो ओढाएर
इन्द्रेणीले पिठ्यूँमा बाँधेर
घामको डल्लो फुटाउन हम्मर उचाल्छे
हम्मरले फुटाएका पसिनाका बुँदहरु जमाएर
गिट्टी बनाउँछे ।
गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर
मन्दिर बनाइने ढुङ्गा
रोसी थाकेर बगरमै छोडिएका ढुङ्गा
भगवान् पुजिने अनेकौँ ढुङ्गा
गिट्टी बनाएपछि
यो निर्जन दुनियाँ भन्ने गर्छ
ऊ ईश्वर फुटाइरहन्छे ।