ऊ अर्थात् मान्छे / निमेष निखिल
बादल फाटेको स्वच्छ आकाशजस्तै
उद्दीप्त अनुहारहरूको एउटा जुलुस छ
भन्छन्– बस्ती हो यो मान्छेको
उसले पनि यस्तै मान्दै आएको छ
सभ्यताको उषाकालबाटै उसले पुज्दै आएको माटो छ त्यहाँ
पटकपटक गन्तव्य खोज्न ऊ अथक हिँडेको बाटो छ त्यहाँ
यिनै माटो र बाटोको सान्निध्यमा थाहै नपाई कटेको
स्वर्णिम जीवनको एउटा सुरम्य पाटो छ त्यहाँ
माटो, जसमाथि उसले
पटकपटक आक्रमण गरेको छ
आफूले गरेका हरेक प्रहारको बदलामा
माटोले सुन्दर फूलहरू दिएको छ उसलाई
सुवासित फूलहरू
जिन्दगीका तरङ्गहरू यसैगरी उठिरहेछन् बस्तीमा
आज पनि
बस्ती अझै सुन्दर पार्नुपर्ने ध्याउन्न छ ऊसँग
भ्रातृत्वका थप बिरुवाहरू उमार्नु छ
आत्मीयताका अरु पर्खालहरू उभ्याउनु छ
ढालेर मान्छेविरुद्ध ठडिएका दम्भका रुखहरू
बन्धुत्वको बिउ छर्नै बाँकी छ
यस्तै सुकर्ममा लागेको छ ऊ
ऊ अर्थात् मान्छे
हाम्रो असीम विश्वासको
एउटा ज्युँदो धरोहर।