ऊ अर्थात् म / लोकेन्द्र शाह
सबैले विश्वासघात गरे 
सडकमा ऊ एक्लै करायो 
उसको बोलीमा कसैले ‘हो’ भनेन 
जसले पहिलो ‘हो’ भन्ने गर्दथे
आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले 
ऊ फेरि एक्लै सडकमा थियो। 
तपाईंले उसलाई चिन्नुभएन ?
ऊ भनेको मै हुँ 
म एक्लै थिएँ
सपनाको खोजीमा, सडकमा ।
सपना खोज्नेहरू कोही थिएनन् 
सबै मीठा सपनाहरू देखिरहेका थिए 
सडकमा ऊ चिच्यायो
ऊ नाङ्गिएको थियो— सर्वाङ्ग । 
उसले लुगा लगाएको थिएन 
टाउकामा टोपी थिएन
खुट्टामा जुत्ताहरू थिएनन् 
सबै आङ नाङ्गै थियो 
ऊ एक्लै थियो, सडकमा 
तपाईंले उसलाई चिन्नुभएन ? 
ऊ भनेको मै हुँ,
म एक्लै थिएँ 
जिन्दगीको खोजीमा, सडकमा ।
 
यस पटक पनि उसले निकै मजासँग लाचारी खप्यो 
बर्सातहरूमा पनि ऊ तृषित रह्रयो
प्यास बुझेन उसको 
नदीहरूकै बीचमा भएर पनि 
ऊ गर्मीले अत्तालिएको थियो
र अन्त्यमा ऊ कराउन बाध्य भयो 
कराउँदै ऊ सडकहरूमा आयो 
सायद तपाईंहरूले पनि उसलाई 
निकै नजिकबाट देखेको हुनुपर्छ 
बाटोमा, चोकमा कराउँदै हिँडेको
हुन सक्छ, तपाईंहरूले उसलाई पागल सम्झनुभएको होस् 
ऊ भनेको मै हुँ
चेतनाको खोजीमा/चोकमा, बाटोमा ।
सुकेका पातहरूको सरसराहट मन पराएन 
कोइलाहरूबाट निस्केको आगोले 
ऊभित्रको जाडो मेटिएन ।
मसिनबाट निस्केका बरफका टुक्राहरूले 
उसको मुटुभित्रको गर्मी कम भएन ।
ऊ रोयो, करायो र उसले जीवन माग्यो 
ऊ अझैपनि जिन्दगी खोजिरहेछ
र कुनै पनि दिन तपाईंहरूको आँगनमा आउनेछ । 
उसले भिक्षा माग्नेछ
चामलका दानाहरू नदिनुहोला 
सुनका असर्फीहरू माग्नेछैन 
उसले तपाईंहरूसँग मन माग्नेछ 
उसले तपाईंहरूसँग जीवन माग्नेछ 
उसको माग पूरा गर्नुहोला
सम्भवतः तपाईंहरूले उसलाई चिन्नुहुनेछैन 
ऊ भनेको म हुनेछु 
भविष्यको खोजीमा, मनहरूमा ।
	
	