भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा गीत नेपालका लागि / मोहन कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नेपाली आमाका नेपाली अनुहारहरू ।
नेपाली माटाका नेपाली अनुहारहरू ।
म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा ।
म त सप्तकौशिकी बनिसकेछु वेशभूषामा ।
मेरा कल्पनामा छाल उठेछन् सात स्वरको।
एउटा वीणा हो नेपाल, एउटा सारङ्गी हो नेपाल ।
एउटा तुरही हो नेपाल, एउटा सहनाई हो नेपाल ।
मुर्चुङ्गामा एक्लै सेर्पिनी खेलेर झरेकी नेपाल ।
लिम्बुनी भाखा फेरी–फेरी उक्लेकी नेपाल ।

सिपालु हातले छुनू यो गितार सप्तस्वर आफै बज्छ ।
सप्तगण्डकी छुनू सिपालु हातले सप्तस्वर आफै उठ्छ ।
लहर उठ्नेछन् हिमाली क्षितिज कालीको तीर बनेर ।
कठोरता पग्लिनेछ नबोलेको वीणालाई एक स्वर दिनु मात्र छ ।
कठिन पनि छैन नबोलेको मित्र एक फेर घचघच्याउनु छ ।
टाढा छैन नचिनेको बस्ती एक फेर पुग्नुपर्छ।

झर्नाहरू तार हुन् सारङ्गीका, झर्नाहरू रेसा हुन् मुर्चुङ्गाका ।
सप्तगण्डकी जहाँबाट उठ्छ/सप्तकोशी जहाँबाट बज्छ ।
तमोर, अरुण निद्राबाट जुन सितारमा उठ्नेछन् स्पर्शमा ।
हिमाली पहरा गुनगुनाउनेछन् जुन गीतले
त्यो पानी उठेको छ यो सारङ्गीमा ।
त्यो छाल खेलेको छ नेपाली गितारको तारमा ।
सप्तगण्डकी सङ्गीतमय छ समूहगानले।
सप्तस्वर त्यसैले सङ्गीतमय छ एकान्त साधनाले।
सप्तकौशिकी त्यसैले सप्तद्वीपमा उठेको छ मणिमाणिक्यले।

गीत उठ्नुपर्छ यो माटोमा, सङ्गीत उठ्नुपर्छ यो उपत्यकामा ।
पहाड–पहाड देखिए पनि, ढुङ्गा–माटो देखिए पनि ।
यदि देशको ढुकढुकीमा एउटै गितार छ भने।
यदि यो तमोरमा एउटै सङ्गीत छ भने।
यदि यो प्राणमा एउटै मुटु छ भने।
 
गाउँहो। नेपाली हो। गण्डकी गाउँ–गाउँ हो। नेपाली सप्तकोशी गाउँ।
गाउँदा धरमरले होइन । गाउँदा कम्पनले होइन ।
हिँड्दा डगमगले होइन । एउटा नेपालीले डगमग गर्नु हुँदैन ।
एउटा गीतले यो आकाश उठ्नुपर्छ।
एउटै सङ्गीतले यो धर्ती सङ्गीतमय बन्नुपर्छ।
कष्ट त छ गीत गाउनु र एक्लैसाज बजाउनु।
कष्ट त छ गीतमा फेरि गेडा हुनु त्यस गेडामा कल्पनाउनु।
एउटा मदिरा हो देशको कल्पना ।
एउटा मदिरालय हो देशको सङ्गीत ।

म गीत गाउँछु नेपाली तिमी नाच । तिमी नेपाली गीत गाऊ म नाच्छु।
त्यो एउटा गीत सेर्पिनीले हेलम्बूमा गाएजस्तै उच्चाइको होस्।
त्यो एउटा गीत थकालीले गाउन लागेको भावनाको होस्।
त्यो एउटा मनको तार डोल्पाली सुन्दरीले छोएजस्तो छोएको होस्।

त्योगीत शान्तिका लागि । त्योगीत प्रगतिका लागि ।
त्योगीत उन्नतिका लागि । त्योगीत प्रेमका लागि ।
त्योगीत मुसिबतमा मोहबतका लागि ।
सप्तकोशीका लागि, सप्तगण्डकीका लागि ।
अरुणका लागि, तमोरका लागि ।
त्यो गीत विश्वप्रेमका लागि ।
नेपालीका लागि ।