Last modified on 13 मई 2017, at 08:55

एउटा जीवन स्वतन्त्र चाहन्छु / सविता गौतम दाहाल

जीवनसँग बेरिएर जीवन
बूढो रूखजस्तै भएको छ
न यी लहरा काटेर फ्याँक्न सक्छु
न यी लहरा चुँडालेर हुर्याउन ।

के गरूँ
एकान्तको पीपल हुन सकिनँ
एकान्तको बर हुन सकिनँ
तपस्या वा समाधिमा लीन हुन सकिनँ
घना जङ्गलभित्रको बूढो रूखजस्तै भएको छ जीवन ।

जीवनसँग बेरिएर जीवन
बूढो घरजस्तै भएको छ
न यो घर फोड्न सक्छु
न छेउछाउबाट केही हटाउन ।

के गरूँ
झ्यालबाट सल्लेरी वन
वा गौँथलीको यात्रा
वा हरियो खेत देखिने
केही पलको हाँसो हाँस्न सकिनँ
पुरानो सहरभित्रको बूढो घरजस्तै भएको छ जीवन ।

जरा गाढिएको रूख
पूरातन शैलीको नमुना घर
आ– आफ्नै स्वाभिमानी इतिहास
गाउन लीन छन् ।
के गरूँ
न वूढो रूख चाहन्छु
न बूढो घर
केवल एउटा जीवन स्वतन्त्र चाहन्छु ।