एउटा पुरुष / सविता गौतम दाहाल
उसको सुगन्ध जब फिजिन्छ, लट्टिएर मदमस्त हुन्छु
एउटा पुरुष छ
उसलाइ आलिंगनमा बाधिरहन चाहान्छु ।
जब उ मेरो समीप आऊँछ
उसलाइ नयन नदी पौडन दिन्छु
उसलाइ आनन्द सागर पुरयाउन खोज्छु ।
सबथोक सम्हालेर प्रेम गर्छु
जब जब उ उदार हुन्छ, माया वढदै जान्छ
जब जब उ अनुदार वन्छ, दया जाग्दै जान्छ ।
एउटा पुरुष छ
जसको उपस्थिति मात्रले पग्लेर पानी बन्छु
या सायद नौनीको कोमल रुप ।
स्पर्शको जादू जब चल्छ
लाग्छ म कुनै नर्तकी हूँ
र उसको संगीतमा संसार भूलेर नाँचीरहेछु ।
जब उ कुनै दिन अत्याधिक थाकेर शान्त हुन्छ
विस्तारै माया मलम लगाइ दिन्छु
नउठूँन्जेल शान्ति प्रार्थना गरीरहन्छु ।
एउटा पुरुष छ
जसको सुगन्ध र स्पर्श दुवैको कायल छु
जीवन उत्सर्ग उसमै छ, मैले बुझन थालेको छु ।
कहिले उत्पात रिसाउछ, वनाइदिन्छु कृपा पात्र
र पर्खन्छु थामिउन्जेल
जब उ टोलाएर दर्शनमा हराउँछ, मुस्कुराएर संसार फर्काउछु ।
एउटा पुरुष छ
जो मेरो काखमा सुस्ताएर
स्नेहको शिखर आरोहणमा निस्कन्छ ।
उसका वलिष्ठ पाखुरामा कुनै जादुइ आर्कषण छ
सृष्टिका अनेकन आकृति देखाउने विशिष्ट दर्पण छ
उसको संगतमा प्रेम र प्रकृतिका अर्थ बुझछु ।
उसको हिम्मत र हिस्सी
उसको अनुभव र ओज
मलाई प्रेमीका बनाइरहन्छ ।
एउटा पुरुष छ र म छु
म छु र नै उ छ
धरतीको धर्म, हराभरा सृष्टि, उसंगै मिलेर बन्छ ।