एउटा यस्तो बिहान / महेश प्रसाई

हरेक बिहान यहाँ पहिरो जान्छ
हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको
एउटा शोकगीत मरणासन्न हुन्छ,
त्यसैले पहिरो गयो त के भयो
जान देऊ,
त्यसैले तिम्रो निर्दोषितामा
वज्र पर्योर त के भयो
पर्न देऊ,
कथङ्कदाचित् शोकगीत नगाऊ
यहाँ कसैलाई कसैको सरोकार हुन्न
यो मान्छेको बस्ती नै उस्तो
रोज यहाँ तिम्रो मान्छे सङ्कटापन्न हुन्छ ।

र रोज यहाँ ससानो अपशकुनको भुइँचालो पनि जान्छ
भुइँचालो भन्नु पनि के र
दुर्बलहरूलाई मात्र त्रास देखाइन्छ,
रोज यहाँ—
कलिला आयुका समथर पर्तीमा
निरङ्कुश बुटहरूले परेड खेलिन्छ
निःसन्देह, निर्दोष मनका फूलबारीहरूमा
पाषाण दुर्विचारहरूले नित्य एक पल्ट वज्र प्रहार गरिन्छ
यसबेला, मन्दिरमा जहाँ घण्टहरू बज्नेछन्
यसबेला पूजनहरूमा जहाँ भजनहरू गाइनेछन्
ए कलिला आयुधहरू ।
तिम्रो इन्साफको कुरा हुन सक्दैन,
नेपथ्यमा जहाँ षड्यन्त्र हुन्छ— निसाफ हुन सक्दैन
सूत्रधार आउँछ र जान्छ
तिम्रा कलिला मुटुहरूको संवाद
उसले पनि गाउन र गाउन लगाउन सक्दैन ।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.