भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा लोरी-गीत छोराको लागि / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भोलि बिहानै तिमीलाई भेट्न आइपुग्नेछ
अहिले त पश्चिमलाई उज्यालो पार्न
त्यतैतिर पुगेको छ घाम
सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ

भन्नेहरु त भन्छन्
डुब्नको लागि मात्र पश्चिम पुग्छ घाम
थाकेर मस्त सुत्नको लागि
पश्चिमको डाँडोबाट तल ओर्लन्छ घाम
तर छोरा
घाम डुब्नुमा घामको दोष कहाँ हुन्छ र ?
घाम डुब्छ
खसिरहेको उज्यालोलाई बचाएर धर्तीलाई बाँड्न
आकाशको खालि पानाभरी
उज्यालोको नि:शब्द कथा लेख्न

हो छोरा, घाम डुबेको छ
र अँध्यारो चराझैं पखेटा खोलेर उडेको छ
घाम डुबेको छ
र हुस्सुको बाढी बग्न थालेको छ
घाम डुबेको छ
र आन्ध्यारोका प्रेमीहरु भजन गाइरहेछन
चुलाहरु बिहानसम्मका लागि निभेका छन्
आँगनहरु भालेको डाँक पर्खेर बसिरहेका छन्
अब छतमा रातभरी कुनै चराले गीत गाउनेछैन

अब चौरमा कुनै रुखको छाया नाच्न पाउनेछैन
रातभरी बाटोमा
बरफपट्टी लगाएर हिंडीरहनेछ हावा
समय बैशाखी काखीमा च्यापेर घिस्रिनेछ
एउटा भयले रातभरी बाँसुरी बजाइरहनेछ
तर चिन्ता नमान्नु छोरा
उज्यालो झरना भएर नखस्ने समयसम्म
म तिमीलाई लोरी सुनाइरहनेछु – उज्यालोको
म तिम्रा सपनासंग जिस्किने
शोकको अनकन्टारमा बाटो खानिरहने छु
सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ

भोलि फेरी
किरणहरूको पिंगमा मच्चिएर
एउटा उत्सवमय दिन बिताउनु छ
इन्द्रेणीको खोलाबाट कुलो पटाएर
सादा खेतहरु रंगैरङ्गले भिजाउनु छ
आफन्तलाई
आफ्नै आसपासमा एकदिन फक्रिएको हेर्नु छ

जीवनलाई
यस्तैयस्तै दिनहरुको संग्रहालय बनाउनु छ

सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ !