एउटा हराएको देश / कुन्दन शर्मा
यो जङ्गबहादुर जन्मने र हुर्कने परम्परा
यहाँ धरहराको टुप्पोमा
भीमसेन थापाको इतिहास झुन्डेको छ
यहाँ कति माथवरसिँह अकाल मरेका छन्
यहाँ कोतपर्वको भूतले
अझै हामीलाई लखेटेको छ ।
कुनै युगमा कसैको अघि
नझुकेको हाम्रो अस्तित्व
आज कहाँ गयो हाम्रो त्यो व्यक्तित्व !
कति युगदेखि पर्खेका छौँ
हामी खाली हात पसारेर
कति युग गइसक्यो त्यसै
हामीलाई लोप्राएर ।
यो कसले कसलाई दिएको हक
हाम्रो जीवन चलाउने ?
यो कब र कसरी जन्मेको प्रपञ्च ?
हाम्रै नाममा हामीलाई सिध्याउने !
एउटै माटोमा जन्मेका हामी
एउटै काख किन पाएनौँ ?
एउटै आमाका सन्तान हामी
फेरि उस्तै बाँच्न किन पाएनौँ?
कति ढोका र घरअगाडि
गोर्खे भई हामी उभिएका छौँ,
कति भिक्टोरिया क्रस र परमवीरचक्रमा
बहादुर भई हामी मरेका छौँ
ती सबै अनुहारमा
आफ्नै अनुहार लुकेको देख्छु म
ती सबै कथामा
आफ्नै व्यथा रोएको सुन्छु म ।
सबै युगमा यहाँ बस्न नसकी
हामी मुगलान पसेका छौँ
कतै सप्रन पुगेका-कतै बाँच्न भागेका छौँ ।
सबै युगमा यहाँ बाँच्न खोज्दा
हामी आफ्नो यथार्थसित हारेका छौँ
कति शुक्रराज र दशरथ चन्दको आत्मा
अझै यो मनमा छटपटाए झैँ लाग्छ मलाई ।
आज यो मन नै कुनै कारावासमा
भोको पेटको सजाय भोगिरहे झैँ लाग्छ मलाई ।
गएका जति यहाँ फर्कन सकेनन्
यहाँ भएका पनि यहाँ सप्रन सकेनन्
फेरि कुन बाजी जितेर
फुर्कन्छौँ यहाँ यसरी हामी !
फेरि कुन बाजी हारेर
रुन्छौँ यहाँ यसरी हामी ?
हाम्रो त न कुनै पासा छ, न बाजी
हामी फगत नेपाली,
एउटी लाटी र बहिरी आमाको
अलपत्रे सन्तान झैँ
आज कहा-कहाँ आफ्नो हक माग्दै लखेटिएका छौँ
आज आफ्नै माटोमा पनि
एउटा हराएको देश खोज्दै हिँडेका छौँ ।