भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एकदिन मान्छे आफ्नै घर आइपुग्नेछ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जसरी
तीव्र गतिमा समय फर्केर
उही समयमा आइपुग्नेछ !

ध्वनि फर्केर जसरी
उही मौनतामा आइपुग्नेछ !

जसरी
अस्ताएको घाम फर्केर
उही दिशामा आइपुग्नेछ !

जसरी
बतास फर्केर
उही ध्यानमग्न गुफामा आइपुग्नेछ !

जसरी
दुर्गम क्षितिजको एक चोक्टा आकाश
समीप आइपुग्नेछ !

जसरी
निर्वासित चरा फर्केर
उही गुँडमा आइपुग्नेछ !

जसरी
बगेर गएको आदिम नदी फर्केर
उही प्राचीन पहाडमा आइपुग्नेछ !

जसरी
विघटित यात्राबाट फर्केर बाटो
उही बाटोमा आइपुग्नेछ !

ठीक त्यसरी नै -
पटक पटक आफैँबाट चोइटिएर गएको
आफैँबाट खण्डित भएर गएको
आफैँबाट टाढिएर गएको
एउटा सनातन मान्छे
फर्केर फेरि आफ्नै घर आइपुग्नेछ !

- स्मृतिको छायाँ पछ्याउँदै पछ्याउँदै
एकदिन मान्छे आफ्नै घर आइपुग्नेछ !

०००