एकपल्ट फेरि / निर्मला पुतुल / सुमन पोखरेल
एकपल्ट फेरि
भेला हुनेछौँ हामी
विशाल सभागारमा
भाडाका भीडका बीच ।
एकपल्ट फेरि
इज्जतिला ठानिएका
आधा काटिएको ब्लाउज लगाएका महिलाहरू
गर्नेछन् हाम्रो जुलुसको नेतृत्व
र प्रतिनिधित्वको गर्या भन्दै
मञ्चासीन हुनेछन् अगाडि ।
एकपल्ट फेरि
एउटा विशाल ब्यानरमुन्तिर
मञ्चमा ठडिएको माइकमा कराउनेछन्
व्यवस्थाका विरूद्धमा
र हाम्रो ताली बटुल्दै
हात उठाएर भ्रमित पर्नेछन्
उनीहरू भनेकै हामी हौँ भनेर ।
एकपल्ट फेरि
शब्दहरूका वायुपङ्खी रथमा बसाएर
तीनले लग्नेछन् हामीलाई संसदको कोठाचोटा घुमाउन
जहाँ पुरुषहरूका अहम्सँग जुध्नेछन् हाम्रा मुद्धाहरू
र चकनाचूर हुनेछन्
त्यसमा रहेका हाम्रा सपनाहरू ।
एकपल्ट फेरि
हाम्रो सभालाई सम्बोधित गर्नेछन्
माननीय मुख्यमन्त्रीले
र हामी गौरवान्वित हुनेछौँ आफैँप्रति
हाम्रो सभामा उनको उपस्थिति पाएर ।
एकपल्ट फेरि
बहसको खरो ज्वालामा पाक्नेछ नपुंसक विचार
र लिइनेछ -
दाइजो-हत्या, बलात्कार, यौन उत्पीडन
वेश्यावृत्तिका विरुद्धमा मोर्चाबन्दी गरेर लड्ने सङ्कल्प ।
एकपल्ट फेरि
आफ्नो शक्तिको समुहिक प्रदर्शन गर्दै
हिँड्नेछौँ हामी शहरका बाटाहरूमा,
पुरुष-सत्ताका विरुद्धमा
हावामा मुठ्ठी कसेर, हात हल्लाउँदै
र हाम्रा उत्तेजक नाराको तापले
तात्नेछ शहरको बतास ।
एकपल्ट फेरि
एकझुन्ड भएर हामीले उत्तेजक नारा लगाइरहेको
शहरको व्यस्ततम् चोकमा
पर्तिरपट्टी पर्खालका भित्तामा टाँसिएका पोस्टरहरूबाट
ब्रा र पेन्टी मात्र लगाएका सिने-अभिनेत्रीहरूले
लाजपचाएर नायकको पाखुरामा च्यापिँदै
बुढीऔँला देखाएर गिज्याउनेछन् हामीलाई ।
बिस्तारै चिसिन थाल्नेछ भित्रको आगो
र एकपल्ट फेरि
तितरबितर हुनेछौँ हामी चोकबाट
आ-आफ्ना पति र केटाकेटीहरूको
अफिस र स्कूलबाट फर्किने बेला भइसक्यो भन्ने चिन्ता बोकेर ।