एक दन्त्य कथा / विक्रम सुब्बा
सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’
कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ
ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
एकबारको जुनी पाएका मानिसहरू लाखौँ मारिए
रगतको खोला बग्यो
अनेक स्वतन्त्र राज्यका अनुहारहरू बगेर विलय भए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !
यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मानिसजस्तो लाग्ने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’
कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरू सँगसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेनछ
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेलमा कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले भनेको कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।
त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीहरूलाई सुनाउँदै-सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तपाईँलाई म यो कविता सुनाउँदैछु ।
एक पुरानो कथा/मिथमा आधारित