एलिभेटर / आरती एच.एन. / सुमन पोखरेल
अचानक खुल्छ ढोका
यो बट्टाको, जो कसैको हैन..
भित्र पस्नेबित्तिक्कै
सल्किन्छ एउटा असजिलो मौनता।
कुनै अनपेक्षित मृत्युपछिको समवेदना भेलाजस्तो।
मास्तिर उक्लन थाल्छ एलिभेटर जब
न फुर्तिलो हुन्छ न त जुम्सो नै
अदृष्य भएर वरिपरि धड्किरहेको
खाँदिएको हृदय।
बसिरहेछ अझै
भर्खर निस्किएर बाहिर गएको नदेखिएको मान्छेले लगाएको सेन्ट।
किचिएर भूँईँमा सुतिरहेको छ फूलको एउटा पत्र।
मधूरो प्रकाशले घमण्डी रीसलाई छरेजसरी
हतारमा तानिएको एउटा हात र
आँशु भएर झरेको दुखाइ।
तर, हेर्नुस् यता छेउतिरको मुस्कान
उत्कण्ठाले भरिएका ओठसहितको
एउटा नयाँ प्रेमी।
भरयाङबाट जाने सोचेथेँ मैले
खुड्किला खुड्किला उक्लिँदै।
अडिनु, झुक्नु, बस्नु,
हिँड्नु, तिर्खाउनु,
निधारअगाडि आएको केश मिलाउनु
र माथि पुग्नु, तर
के यहाँ पनि सक्छ कसैले?
कुनै असुरले प्रभुत्व जमाएझैँ एक्कासी,
कता लैजान्छ गोडाले?
के ढकढकाउन सक्छ यसरी कसैले
रहरको ढोका?
दैलामा उभिएर
कसैले हेरिरहेको हुँदैन हामी आउने बाटो
आँखाका बल्दै गरेका बत्तीबालेर।
अवरोहण शुरू हुन्छ हरेक आरोहणपछि
र उचित हुँदैन नियम भत्काउनु ।
माथि उक्लिनु र तल झर्नु
साँप र सिढीँको खेलमा जस्तै।
के भन्न सक्छ र कोही?
कसै गरी बहादुर हैन
आफूलाई दिएको घोडा चढ्न नसक्ने मान्छे
एउटा अत्यन्त उत्सुक प्रेमी हो ऊ
र म उसकी मुग्ध अप्सरा।
चारैतिर ऐना भएको
यो एलिभेटरको चढाइ।
एउटा अनुहारका दशवटा प्रतिच्छाया
बहुरूपी हौ तिमी
एउटा मात्र मुखुण्डो लागाउने गर्छु तर म ।
आउने जाने ग्राहकको कुनै सूची छैन मसँग ।
सतत साहचर्यको प्रत्याभूति गर्न सकिँदैन कहिल्यै ।
बीचैमा छोडेर जानेछ तिमीसँगै आएकाले पनि ।
अनेक तहका
अनेक स्तर र बन्देज गरिएका सीमाभित्रका
हुन्छन् यहाँ सम्बन्धहरू ।
खाली हुन्छ ठाउँ जब
कतै खुल्छ एउटा ढोका ।
र फेरि समुद्र भएर फेरिन्छ मन
कठीनताका साथ मन्थन भइरहेको।
के निस्कन्छ – अमृत वा बिष?
के फेरि परिवर्तित हुनुपर्यो मैले
एउटी बिषकन्यामा?