भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऐठन / रोशन परियार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कत्तिको अग्लो रहेछ भनेर
आफैँमाथि चढेर हेरेको जिन्दगी
आफूभन्दा होचो देखियो

साह्रै होचो पो देखिएछ जस्तो लागेर
अलिकति झुकेर हेरेको जिन्दगी
अरुभन्दा थोरै अग्लो पनि देखियो

समुन्द्र जस्तै विशाल रहेछ भन्ने सोचेर
आँशुसँगै खसेर जमेको जिन्दगी
शीतको थोपा झैँ टल्किएपछि खुशी देखियो

आहा ! खुशी नै त रहेछ नि भनेर
ओठबाट उन्मुक्त हाँसेको जिन्दगी
भोक निल्न नसकेर सास अड्केको पनि देखियो

हदै हलुङ्गो हुँदोरहेछ सास भनेर
काँधमा बोकेको जिन्दगी
घाटमा पुर्याएपछि सासको औकात देखियो

आगो त रहेछ नि भनेर
चितामाथि जलेको जिन्दगी
खरानी जस्तो धुलो देखियो

नाथे , हावाले उडाउने धुलो सम्झेर
पानीमा बगाएको जिन्दगी
ओरालो बग्दाबग्दै पत्तै नपाई सकियो

सकिनु नै त रहेछ नि भनेर
भित्ताको फोटो हेरेको
जिन्दगी त फोटोमा बाँचिरहेको देखियो

अरे !
जिन्दगी कहिल्यै मर्दैन त ? भनेर
यसो ढोका खोलेर चिहाएको
ज्युँदाहरूको जिन्दगी त
पखेटा काटेर पालेको पक्षी जस्तै देखियो

मलाई डर लाग्यो ज्युँदाहरूको जिन्दगी देखेर
मैले चुपचाप ढोका बन्द गरेँ
म सुतेको चिहानभित्र
यस्तो डरलाग्दो ऐठन कहिल्यै भएको थिएन।