ऐतवारी ! कसरी तँलाई म प्रेम नगरूँ / अबीर खालिङ
तेरो मोतीजस्तो चम्किलो सेतो दाँत देखेपछि
ईर्ष्याले बोल्नेहरू भन्छन्
तँ काली भएरै
तेरो दाँत चाँदीजस्तो देखिएको हो ।
थाहा छैन कि उनीहरूलाई
तँ त आगोभन्दा तातो घाममा तपेर
सुन बनेकी होस्
भाभरमा जली जली
जुन बनेकी होस्।
चियाबारीमा बिगा र डबलीको लोभमा
कति घाम पचायो तेरो कमलो आङले
कति पसिना ओभायो
तेरो ख्याउटे ज्यानले
र पनि तँ त
फुलिस् सृष्टिको सुन्दर फुल
तँ त मेरो कालो गुलाफ होस्।
- करम पूजाको रात
कति नाचिस् दु:ख
र मलाई कानमा खुसुक्क भनिस्
'मोइ तोर से प्यार करोन्'
म त मरेँ नि मेरी काली ऐतवारी
कसरी तँलाई म प्रेम नगरूँ।
व्यवस्थाको निर्मम खुट्टाले
टेकिरह्यो तेरो शिर
मालिकहरूले चुसिरह्यो तेरो खुन
ट्रेड युनियनका नेताहरूले
बेचिरहे तेरो श्रम
म कसरी तँलाई प्रेम नगरूँ ऐतवारी
जब कि अरूको बिहान
तेरो खुन पिएर सुरु हुन्छ
र साँझ तेरो घाँटी रेटेर रङ्गीन हुन्छ।
काम खोज्दै केराला पुगेको
दाजुको नाममा
उपवास बसिस् करम पूजामा
अनि लजाउँदै भनिस् मलाई
- जितिया तोर लेगिन रैखबो।
आउँदो #सरुल पर्वमा
बिहे गर्ने तेरो सपनालाई
कुन चट्टानमा कोरूँ म
कुन स्याहीले लेखुँ म
समयको गालामा
ताकि भुईँमान्छेहरूको सानो सपना
मेटिदिने क्रुर हातहरूले
मेट्न नसकुन् हाम्रो प्रेमको कथा।