ऐ इतिहास, फर्काइदे मेरो सुगौलीको कागत / युद्धवीर राणा
हरेक दिन यहाँ इतिहास केरिने गर्छ
हरेक दिन यहाँ इतिहासको पन्ना फेरिने गर्छ
हरेक दिन यहाँ इतिहासको अध्याय फेरिने गर्छ
हो, इतिहासले घटना चपाउँछ— घटना निल्छ
इतिहासले यहाँ घटना खान्छ,
इतिहासले यहाँ चङ्गेजको तुफान चपाएको छ
सुल्तान महमुदको आँधी निलेको छ ।
मानको उर्लंदो खहरे पचाएको छ
त्यस्तै आज पनि
असमको हुन्डरी खाएर इतिहास अघाएको छ
खै। बुद्ध, अशोक जन्मेर पनि के भो र ?
गान्धीवादको तोरण टाँगेर चिच्याए पनि खै के भो र ?
लखिमपुर, गहपुर र नेलीका घटनाहरू खाँदा–खाँदा
अपच भएर इतिहास छटपटाएको छ ।
ऐ इतिहास, मेरा अमरसिंह र भक्ति थापा फर्काइदे।
ऐ इतिहास, मेरा कालुपाँडे र बलभद्र फर्काइदे।
फर्काइदे मेरो सुगौलीको कागत ।
मैले तँलाई दिएर ठूलो भूल गरेको छु,
हेर् मेरो अनुहारलाई, कसरी बाँचेर मरेको छु,
त्यसैले त्यो सुगौली–कागतका हरफहरू
धोएर ब्रह्रमपुत्रमा बगाइदिन चाहेको छु
जसरी खुँडा–खुकुरी काँगडामा पखाल्दा
कटकटिएको रगत टिस्टाले बगाएको थियो
आज फेरि त्यसरी इतिहासका हरफहरू धोएर बगाइदिन चाहेको छु।