ओ ! आङ सान् सू ची ! / मनप्रसाद सुब्बा
[म्यान्मारको सैनिक शासनले सू चीलाई नजरबन्द राखेको अवधिमा लेखिएको कविता ।]
बाहिर निस्कन मनाही छ । 
भित्र पस्न मनाही छ । 
बस्, मनाही छ । 
मनाही छ । 
अग्लो पर्खाल छ । 
अनि होंचो सिलिङ छ । 
सिलिङमुन्तिर भुइँमा
पर्खालको पाइतालाले थिच्चिएर 
छटपटिरहेको यौटा आवाज छ । 
एक समय थियो 
जब त्यो आवाजसित पखेटा थियो 
र त्यो उड्थ्यो निस्फिक्री 
त्योसित उड्थे हजारौं गौंथलीहरू 
तिनीहरूकै उडानले आकाश निर्माण हुन्थ्यो 
क्षितिजपछि क्षितिज हुँदै ढोकाहरू उघ्रिन्दै जान्थे 
त्यो आवाजका अनगिन्ती खुट्टाहरू थिए
र ती खुट्टाहरू समुद्रको सतहमा हिँड्थे लहर लहर
फेरि जीउभरि प्वाँख उमारी समुद्रबाट आकाशतर्फ उड्थे 
अनि ओर्लन्थे धरतीमा पानीका अनगिन्ती थोपाहरुसित - 
तर ... 
त्यो समयको एक टुक्रा बिहान 
स्वतन्त्र आवाजले उदाङ्गो आँखाभरि देख्नसकेको
सपना थियो...
अचेल त्यो नजरबन्द आवाजलाई हावा छैन । 
त्यसैले कुनै उडान छैन । 
त्यसैले आकाश पनि छैन । 
समुद्रमा लहर कुद्ने खुट्टाहरू 
सैनिक हुकुममा डबल मार्च नगरी धरै छैन । 
स्वतन्त्र आवाजका अभिभावक भइटोपल्नेहरू 
आफ्नै होहल्लाले कान बुच्च्याएर 
सुन्दैनन् यो पर्खालभित्रको आवाज । 
तर बर्मादेखि म्यानमारसम्मको इतिहासमा 
पर्खालभित्रै पनि टड्कारो देखिने 
तिमी, ओ ! आङ सान् सू ची !!         
	
	