औसत मान्छे / दिनेश अधिकारी
सजिलोका लागि
उसलाई रामबहादुर भने हुन्छ
यद्यपि रामबहादुर
रामबहादुर मात्र नभएर
धेरैको छद्म नाम हुन सक्छ।
हरेक बिहान
निदाइरहेका छोराछोरीको निर्दोष अनुहार हेरेर
रामबहादुर
जेठको घाममा
मैनजस्तै पग्लन्छ उनीहरुको मायामा
र पटकपटक
निर्दोष शिशुनिधारमा म्वइँ खाइरहन्छ
यस बेला उसको अनुहार
तिहारको सयपत्रीजस्तै सुन्दर देखिन्छ।
घडी हेर्छ,
काममा जान अबेर हुन आँटिसकेछ
कमिजको टाँक लगाउँदै ऊ भान्सामा पुग्छ
च्वाइँय्य !
स्वास्नी तरकारी ओइरिँदै हुन्छे कराहीमा
रामबहादुर
भर्खरै तेलमा फुराएको
खुर्सानीको खारजस्तै
स्वास्नीसँग रिसाउँछ
भात पकाउन ढिलो गरेकोमा
भुतभुताउँछ केहीबेर आफैंसँग
र, तात्तातो गाँस टिपेर
आफ्नो बाटो सोझ्याउँछ।
रामबहादुर
समर्पित भावले आफ्नो काम गर्छ
मनले/शरीरले
जबजब थाकेको अनुभव गर्छ
ऊ-
इँटाभट्टाको चिम्नीजस्तै
बुङबुङती चुरोटको धुवाँ उडाएर
पुनर्ताजगी हासिल गर्छ।
त्यस्तो कुनै ठूलो आकाङ्क्षा छैन ऊसँग
र, जीवनप्रति
त्यस्तो कुनै गुनासो पनि छैन ऊसँग
रामबहादुर 'नाइँ' भन्न चाहँदैन कसैलाई
कहिलेकाहीँ त्यसैले
साथीभाइसँग बसेर बेसरी रक्सी पिउँछ
र, रक्सी पिएकै झोकमा
'कोठी' भित्र छिर्छ कहिलेकाहीँ ऊ अरुहरुसँगै
र, आफैसँग भाग्छु भनेजस्ता
खुट्टाहरुलाई सकेसम्म समाल्दै
त्यहाँबाट निस्कन्छ
र, बचेखुचेका रुपियाँ झकेर खल्तीबाट
उदार चित्तले
छोराछोरीलाई चकलेट किन्छ
मङ्गलबार वा एकादशी हो भने
ब्रत बसेकी स्वास्नीका लागि नबिर्सीकन
केही फलफूल किन्छ
होइन र अरु नै दिन हो भने
स्वास्नीलाई मन पर्ने
दुई सिल सेकुवा पोको पार्न लगाएर
खल्तीमा हाल्छ
र, साउने आकाशजस्तो अनुहार लिएर
घर पुग्छ;
लोग्ने कुरेर बसेकी स्वास्नी
उसले खुट्टाबाट जुत्ता फुकाल्दा नफुकाल्दै
भात पस्कन थाल्छे
ऊ भने
छोराछोरीलाई चक्लेट बाँडेर
भान्सामा पुग्छ
र, स्वास्नीले देख्ने गरी
फलफुल वा सेकुवा एकातिर राखिदिएर
खपाखप भात खान्छ
र हतारहतारमै हात चुठेर
बिस्तरामा आएर डङ्रङ्ङ सुत्छ।
घरधन्दा सकेर
स्वास्नी ओछ्यानमा आइपुग्दासम्म
फ्वाँफ्वाँ निदाइसकेको उसको निद्रा
स्वास्नीले आफ्ना लागि बर्को तानेपछि
खलबलिन्छ
र, अर्धनिद्रामै
दङदङती रक्सी गनाएको मुख
स्वास्नीसँग जोड्न खोज्छ,
स्वास्नी रिसाउँदै ऊतिर पिठयूँ फर्काउँछे
लरबराएकै स्वरमा
नरिसा...उ...न... भन्दाभन्दै
रामबहादुर फेरि फ्वाँफ्वाँ निदाइसक्छ।
आफ्नो भोगाइका यावत् कुरा
कहिलेकाहीँ
नसोधीकनै हामीलाई भन्छ
ऊ जहाँ पनि इमान्दार छ
कसरी भोग्नुपर्छ जीवन भनेर कहिल्यै सोचेन उसले
जस्तो आइपर्छ
ऊ जीवनलाई त्यसै गरी भोग्छ
तर उसमा कुरा सुनेपछि
कहिलेकाहीँ
बरु मै सोध्छु आफूले आफैंलाई
रामबहादुर
वास्तवमा हो चाहि कुन?
भट्टीको कि कोठीको?
सन्तानको कि स्वास्नीको?
कामको कि सङ्गतको?
रिसको कि मायाको?
कि रामबहादुर कतै छँदै छैन?
अथवा
रामबहादुर भनेको
केवल मान्छको मन हो-
उस्तै स्वतन्त्र/उस्तै अधीन
उस्तै स्पष्ट/उस्तै अस्पष्ट
उस्तै कोमल/उस्तै कठोर
उस्तै ब्यवस्थित/उस्तै छरपष्ट
उस्तै सरल/उस्तै जटिल
उस्तै हार्दिक/उस्तै क्रूर
उस्तै नजिक/उस्तै दूर
उस्तै निश्चित/उस्तै अनिश्चित
...कि के हो रामबहादुर?