कता दौडिँदैछ मेरो मान्छे ? / सुमन पोखरेल
दौडिरहेछ मान्छे
हरेक बिहान
घडी हेर्दै
हतारहतार
घरबाट बाहिरतिर।
साँझमा
काखीमा एक मूठो साग च्यापेर
अस्ताउँदै गरेको सूर्यलाई हेर्दै क्षितिजमा
घरतिर।
कता दौडिँदैछ मान्छे
हरेक साँझ
हरेक बिहान?
केवल
उमेरतिर
आयुतिर
मृत्युतिर
वा अन्य कतै पनि ?
हतारहतार
बिहान एउटा हस्ताक्षरको साबिती वयान दिन
हाजिर भएको,
र हरेक साँझ
साग र भात सिद्याउने अभिलाषा बोकेर ।
अनि, हुन सक्छ
अरूले तयार पारिदिएका
टेलिभिजनका कथाहरूमा
रेडियोका समाचारहरूमा
आँखा र कानलाई
खेताला लगाउन ।
मष्तिष्कलाई बाँधेर लाचारीले
वा थिचाएर
विवेकशून्यताले
स्क्रिनमा देखिएका
अर्धसत्य तथ्यहरूका
आधा खुलेका छाताभित्र आँखा दौडाउँदै
ङिच्च हाँस्न
वा
एउटा कार्यक्रममा रेडियोको
कुनै नेता भनाउँदोले अर्को नेता भनाउँदोलाई गाली गरेको
प्रतिवेदन सुनेर
एक्लै थपडी बजाउन ?
मेरो संसारमा
मान्छे यसरी नै दौडन्छ
र केवल यत्तिका लागि दौडिरहेछ ।
उसको दौडाइले
कतै पुग्नुपर्ने वाध्यता बोकेको छैन
सगरमाथाको फोटो हेरेर
पोष्ट अफिसका ढोकाका पोष्टकार्डहरूमा
चित्त बुझाउन सक्छ ऊ ।
सायद गर्व पनि गर्दो हो
सगरमाथा उसैले बनाए जस्तो !
उसको दौडाइले
केही भेट्टाउनुपर्ने नियति पनि बोकेको छैन।
दौडदाको क्रममा
उसको भित्री इच्छा हुँदो हो, बरू
नकिनेको कुनै चिठ्ठा परोस्
अकस्मात फलिफापको ।
मान्छे दौडिरहेछ
हरेक बिहान
हरेक साँझ
घरबाट बाहिरतिर
बाहिरबाट घरतिर।
बेलुका इडिएट बक्सबाट झिकेको
एउटा अन्तरिक्ष यान खेलाउँछ
दिनभरि मान्छेहरू बीच
र
घोकेको फर्मूला दोहोर्याउँछ,
'ई बराबर म स स्क्वायर्स'
बुझे पनि, नबुझे पनि
मानौँ उसैले प्रदिपादन गरेको हो
सापेक्षतावादको सिद्धान्त ।
र फर्कन्छ फेरि घरतिर काखीमा साग च्यापेर
संसार विजय गरेर फर्किएझैं ।
(संसार विजय गर्ने घर फर्किन भ्याउँदैनन्
आधि बाटो मै मर्ने गर्छन् )
गगल बक्सबाट समाचार झिकेर
भन्छ -
अफ्रिकाले न्यूजिल्याण्डलाई जित्यो
क्रिकेटमा ।
अफ्रिकन टिमको क्याप्टेन उही भएजस्तो !
भन्छ-
टेनिसमा साम्प्रासले इभानोसेविकलाई हरायो
मानौँ साम्प्रास उसकै भाइ हो ।
वा भन्छ, दुःख मान्दै
पियर्सलाई हिङ्गिसले हराइदिई
उसकी स्वास्नी नै पोइल गएझैं गरेर ।
यसरी नै दौडिरहेछ मान्छे
मेरो संसारमा ।
हतारहतार
घडी हेर्दै
काखीमा एक मूठो साग च्यापेर ।