कथा : व्यथा / भवानी भिक्षु
कथा समाप्त भइसके व्यथा अझै रहीरहे
व्यथा अझै रहीरहे।
जीवनीको तरु उठ्यो लहलहाउँदो भयो
फुल्यो, फल्यो र कोइली बसी कुहू कुहू गयो
जिन्दगीको रस पिएँ
जिन्दगीको बिष पिएँ
रूप, रंग, बास औ निराश, आशमा जिएँ
आखिरी वसन्तले सुस्तरी भन्यो- "गएँ
व्यर्थ यहाँ रहीरहे कथा त अब कहाँ रहे
कोइली उडी र तान गुँजिनै रहीरहे
कथा समाप्त भइम के व्यथा अझै रहीरहे
व्यथा अझै रहीरहे ।"
सामुन्ने छ एक प्रश्न- पाउन्यै कुनै बिगार?
उदास मोहको भनाउ- प्यार नै हरे विकार ।
के शरण त्यही गगन?
नीड छन् त्यहाँ नरम?
वायुले सर्सराउँदै भन्यो- भरम, भरम !
चाहसम्म बाँहका आँसुसम्म आहका
व्यथै यत्ति भए यहाँ यही पनि कहाँ त्यहाँ ?
'शून्य'- का सन्देश 'साँय, साँय'-मा बगीरहे
व्यथा अझै रहीरहे ।
एक सासले भन्यो कि जिन्दगी प्रवाह हो।"
एक सासले भन्यो- “यो प्यार हो, बहार हो।"
एकले भन्यो- “कहाँ ? विकार हो असार हो!"
यै प्रवाह, प्यारमा, खुमार औ असारमा
भेट्नु र छुटनुको- अमृत, जहरको धारमा ।
सुधै मरेर विष बचेका- भेद नै रहीरहे
कथा समाप्त भइसके व्यथा अझै रहीरहे
व्यथा अझै रहीरहे।
हीन लक्ष्य, ज्योति आज अन्धकारका पथिक
भावका स्वभाव साथ तर अभाव नै अधिक
अर्थका रवाफ सँगै व्यर्थका जवाफ पनि
स्वप्न तथा व्यंग्यका 'साटफेर' नै क्रमिक।
काव्य अब कवित्व-क्लान्त
गीत करुण, तान शान्त
ज्ञान-वेद, शास्त्रमै, सिलोक-मार प्राप्य भ्रान्त ।
प्रणाम श्वास!
चाहन्यै चल्यो र 'चाह' नै रहे
कथा समाप्त भइमके व्यथा अझै रहीरहे
व्यथा अझै रहीरहे।
.......................................
रचनाकाल २०१६ (परिष्कार २०१७)