भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कनाट प्लेसमा तिमी र म / जय छाङ्छा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पीपलको छाँयैछायाँ भएर
बेलको शीतलता ताप्दै
कनाट प्लेसको व्यस्त सडकमा
भर्खरै गर्मीले प्वाँख फैलाउँदै गरेको
यो न्यानो समयमा
तिमी र म हिँडिरहँदा
एउटा आनन्दको क्षणलाई
भोगिरहेझैँ लागिरहेछ मलाई ।
बसहरू/अटोहरू
मोटरसाइकलहरूका चलायमान गति र
मेरो हृदय धड्कन
नजानिँदो तालमा
उस्तैउस्तै गरेर चलिरहेको मीठो आभासभित्र
किनकिन तरङ्गित भइरहेको छु अहिले
कनाट प्लेसमा
तिमी र म लुखुरलुखुर हिँडिरहँदा ।
कनाट प्लेसको फुटपाथमा
लत्ताकपडा र अन्य सामानहरू बेच्ने
अनि किन्नेहरूको जमात छ
तात्तातो आलु टिक्का र भिजिटेवल प्याट्टी
बेच्नेहरूको हूल छ
बटुवालाई मोजा र रुमाल
भिडाउनेहरूको ताँती नै छ
हल्लैहल्लाको बीचैबीच भएर पनि
कनाट प्लेसमा एकतमासले हिँडिरहँदा
कुनै सुदूर कल्पनाको संसारमा हिँडिरहेझैँ
लागिरहेछ मलाई यसबेला
तिम्रो साथमा आफू हिँडिरहँदा पनि ।
दुई किनाराको बीचमा बहने
एउटा नदीजस्तै
पसले र बटुवाहरूको माझैमाझ भएर
चुपचाप हिंडिरहेका छौँ तिमी र म
न कसैले सोधेका छन् हामीलाई
न कसैले बिदाइका हात हल्लाएका छन्
तै पनि अपरिचित अनुहारहरूको भीडसँग
कहिले कुम जोडाउँदै
कहिले पाउहरू ठोक्काउँदै
यसरी एकतपासले हिँड्दाहिँड्दा
कहाँ पुगिएला हँ, हामी ?
तैपनि हाम्रो यात्रा जारी नै छ
अझै कति बाँकी होला हँ ! हिँड्नु ?
</poem