कमसे कम सपना त देख / कुन्ता शर्मा
कति साह्रो सुस्त छौ तिमी ?
देखिँदैन पटक्कै ऊर्जा तिमीमा
केही हलचल गर
केही चटपट गर
सक्तै–सक्तैनौ केही गर्न भने पनि
बाबा विधाता
कमसे कम सपना त देख ।
थाहा पाउनै कठिन भयो
के गर्छौ अनि के सोच्छौ तिमी
उज्यालाले टेकिसक्यो धरतीमा
पूर्वाकाश राताम्य भइसक्यो
कठिन प्रसवपछि
उदाएको छ नयाँ दिन
उठ र वन्दना गर
अहो कति साह्रो ङ्याकियौ अकर्मण्यताबाट
तिमीले त हाई पनि काढेका छैनौ
केही गर्न सकेनौ भने पनि त
कमसे कम सपना त देख ।
युगौँयुग बितायौ अकर्मण्यतामा
लिप्सामा, स्वार्थमा अहम्को गर्जनामा
कति निदाउँछौ आलस्यको सिरानी च्यापेर
समयले कोरलिसक्यो
परिवर्तनका सुन्दर बचेराहरू
सस्नेह सुम्सुम्याऊ
संरक्षण गर उपलब्धिहरूको
केही गर्न सकेनौ भने पनि
कमसे कम सपना त देख ।
सपनासमेत देख्न नसक्नेले
क्े गर्छ र वास्तविकतामा
मस्तिष्कको विराट् फाँटमा
खेल्दै–खेल्दैनन् भने इन्द्रधनुषी सपनाहरू
आमाको ओठमा हाँसो छर्ने सपना
आमाको मुहार फेर्ने सपना
भेैगो केही गर्ने परिस्थितिलाई फेर्ने
हिम्मत छैन रहेछ तिमीमा भने पनि
कमसे कम सपना त देख ।
सुतेपछि लमतन्न परेर
निदाएपछि देखिने सपना बेग्लै हो
त्यो हुन सक्छ हावादारी अवश्य
त्यसको हुँदैन कुनै सम्बन्ध परिकल्पनासँग
झामझुम भएर जब हराउँछ
मायानगरी सपनाको
अनि भताभुङ्ग हुन्छन् सपनाका बिस्कुनहरू ।
भेटिएला–नभेटिएला साधेको गन्तव्य
पुगिएला–नपुगिएला खोजेको लक्ष्य
कुनै घर बनाउनुभन्दा पहिले
घरको जग राख्नुभन्दा पहिले
इँटा, ढुङ्गा, आदि निर्माणसामग्री
जोरजाम गर्नुभन्दा पनि पहिले
सिकर्मी, डकर्मी आदिको
व्यवस्थापनभन्दा पहिले
अवश्य खेल्नुपर्छ मस्तिष्कमा
विद्युतीय तरङ्गजस्तै सपनाहरू
अनि मात्र निर्माण हुन सक्छ
एउटा विशाल अनि सुन्दर घर
पाङदुरेहरू, हुतिहाराहरू
केही गर्न सक्तैनौ भने पनि
हात बाँधेरै बस्छौ भने पनि बस
तर कमसे कम सपना त देख ।
सबै कुरा छ तिमीसँग
केवल जाँगर र सपना छैन
अहो चौडा फराकिला सडकहरू
जताततै कुदेको सपना
नदीनालाहरू बाँधमा कुलकुलाएर
मेची–काली कुदेको सपना
तराईमा रेलगाडी छुकछुकाएको सपना
एउटा शिखरबाट अर्को शिखरमा
केवलकार कुदेको सपना
नदीनाला र तालतलैयाबाट
अथाह ऊर्जा प्रवाहित भएको सपना
जताततै बत्ती झलमलाएको सपना
ए गुलाम नभएको देशका गुलामहरू
ए वीरभद्रको देशका कायरहरू
ए सत्तालोलुप पङ्गुहरू
साँच्चै नै तिमीसँग देशका लागि
आत्मोत्सर्ग गर्ने बिपना छैन भने पनि
कमसे कम सपना त देख ।
पर्खँदैन कसैलाई पनि समयले
समय उडिरहेछ उडिरहेछ
वेगवान् वायुपङ्खी हाँकेर
अकर्मण्य तिमी, अन्यमनस्क तिमी
कति बस्छौ मौनता साँधेर
ङ्याकिएर पुरानै सोचहरूबाट
केही गर्न सकेनौ भने पनि
कसेर इमान्दारिताको लगाम
जाँगरको घोडादौड गर
समयलाई पछाडि धकेल्ने प्रयास नगर
अरू केही गर्न सकेनौ भने पनि
कमसे कम सपना त देख ।