कविको अनुभव / भवानी भिक्षु
गर्न सकें अनुभव जब जस्तो
त्यस्तै जगमा रोएँ, गाएँ !
एकाकी यो शून्य निशामा टुलुटुलु हेरिरहेछु तारा
झिलिमिलि हाँसिरहेछन् तारा, सुतीरहेछ यो जग सारा
टाढा कुनै दिशामा कोही हिक्क-हिक्क गरी रोइरहेछ
मूक प्रतिध्वनिले यस उरमा कुन्नि के-के छोइरहेछ !
अन्तिम प्रहर निशाको आयो, खोल्यो नयाँ रहस्य कसैले
जग-जीवनसित एक दिवस-क्रम सुस्तरी खोस्यो, हेर, कसैले!
सूर्य सुनौला उम्ल्यो नभमा
रोयो मन - 'मैले के पाएँ ?'
गर्न सकें अनुभव जब जस्तो
त्यस्तै जगमा रोएँ, गाएँ !
भईरहेछ कहिलेदेखि यस्तै दिवा-निशाको नर्त्तन
मेरो कविले हेरिरहेछ किन हो यस्तो बेवश जीवन !
किन हो धारा धमीलो नै छ, सुन पनि बर्सेन अहिले
घुमी-घुमी मरीरहेको दुनियाँ, मर्नु र बाँच्नु छोड्दछ कहिले ?
यस जड-जगको बास लिए पनि मनले पीर-प्रतिध्वनि छोयो
कुन्नि कुन सपना सच्याउननिम्ति प्राण पनि हाँस्यो, रोयो !
कुन सुरपुरको सौष्ठव सुषमालाई -
उरमा के ली आएँ ?
गर्न सकें अनुभव जब जस्तो
त्यस्तै जगमा रोएँ, गाएँ !
छिनछिन पाइरहेछ कविले दुनियाँको यस्तो आकर्षण
छिनभरिमा ने सुन्न थाल्दछ तमपारिको मौन निमन्त्रण !
एकातिर छन् रश्मि चम्किने जसको पृष्ठभूमि छ कालो
भई स्तब्ध चियाउनु पर्दछ- "तमपारि छ कि कतै उज्यालो?"
त्यहाँ पुरन्दरपुर छ कि सकली अथवा त्यो पनि यस्तै नकली :
मधुमय दुनियाँ छ कि त्यहाँ नै या सुख छैन त्यहाँ पनि नजली ?
सिन्धु र बडवानललाई पनि
स्वाससितै सेलाउँदै ल्याएँ ।
गर्न सकें अनुभव जब जस्तो
त्यस्तै जगमा रोएँ, गाएँ !
.....................................
उदय, आषाढ-भाद्र २००६