भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कविको निमित्त यौटा कविता / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उ कवि हो । त्यसैले उसलाई
उसका कविताहरूमा कहिल्यै नखोज्नू ।
त्यहाँ हुँदैन उ । बरू तिमी हुन्छौ, म हुन्छु
र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् ।
उ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर
निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू भएर ।

उ आफ्ना घाउहरुलाई शब्दहरूको बिस्कुन बनाएर
कविताको घाममा सुकाउँदैन
अनि आफ्ना खुशी नै पनि दाँतमा चम्काएर
कुनै टूथपेष्टको विज्ञापनमा हाँस्दैन उ ।
बरू आफ्नो घाउको एक छेउबाट
यस्तो गाउँको मानचित्र खिँच्छ कवितामा
जुन गाउँ भर्खरै दङ्गामा परेर तहसनहस भएको छ ।

शब्दहरूमा अवतरित कवि
आफू हुनै पाउँदैन कवितामा
त्यहाँ त हुन्छ उसले निर्माण गरेको यौटा हात्ती
जसलाई छामेर अन्धा हातहरूले
आ-आफ्नै विश्वास देख्ने गर्छन् ।

कविताको मूल सडकबाट सँधै किनारिएको हुन्छ कवि ।

कविको सास फेराइ
र कविताको लय
दुइटा अमिल्दा कुराहरू रहेछन् ।