भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कविताको व्याप्ति / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक साधु ठूलो डालो लिएर
कविता बटुल्न वनतिर लाग्यो,
डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
छाँगोपाँगो, फलफूल, सागपात जताततैकति खोज्यो,
कतै पाएन,
उसले ठान्यो— कवितासविताको ऋतु त्यो हैन रहेछ;
हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो।
प्रश्न सुनिसकी रसिक बोल्यो— “कहाँ छ जहाँ कविता छैन,
शुष्क आँखाले हेर्योक भने त त्यै झरना पनि नीरस छ,
 त्यो रौझैँ जोबन झरिरहेको शून्यमात्रको उद्घोष छ,
क्यैपछि पानी सब निख्रन्छ र त्योपाखोखल्वाट हुन्छ ।
तर साधु, अनुरागले आफ्नो छाती लिपिहेर,
ठाँटो जमीकन सम्म भएको रक्त–ह्दयको सतहमाथि
दुःखी संसारको चोट एकत्रित पारी
उच्छ्वासले शक्ति प्रहार गर,
अनि अनुभूतको छाल उठाई मस्तकसम्मन् छिटा पठाऊ,
आँखा जलजल रसिलो भएपछि सबै नियाली हेर,
सहानुभूतिले नानीलाई सूक्ष्मदर्शक पार,
अनि त ढुङ्गाका नसा–नसामा पनि रगत चलिरहेको देख्छौ,
पत्थरको मुटु छाम्न सक्दछौ,
अनि पहराले रस बहाउँछ,
 तिमी कविता पाउँछौ, पिउँछौ।”
यति भनेर घामको मइनझैँ
रसिक लत्याकलुतुक भै पग्ल्यो, साधुको आँखा पनि पग्ल्यो,
रूखहरू खोटोझैँ पग्ले, फलफूल महझैँ पग्ले,
हरिया फाँट पोखरीझैँ पग्ले,
समस्त ब्रह्माण्ड हिउँझैँ पग्ल्यो, आकाशगङ्गा भै पग्ल्यो,
ताराहरू सारा जलबिन्दु बने,
 साधुले आफूलाई आफैँजत्रो आँसुको एक थोपो पाए,
अनि दिग्दिगन्त विश्वभरि नैअणु–अणुको गर्भान्तरमा उनले
प्रलय घनघोर गर्जनमा ओतप्रोत भएर
कविता उर्लिरहेको पाए ।