भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कविता फुरिरहेको छैन – १ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटा कविता लेखूँ भनेर बसेको हुँ
सृष्टिका केही सौन्दर्य बटुलूँ भनेर बसेको हुँ ।

जीवन सिद्धिएर बाँकि रहेको
सौन्दर्यविहीन यो बोधो बँचाइमा
बाँच्नुको अर्थ कुँदूँ भनेर बसेको हुँ ।
 
हरपल मृत्युले नाच्ने यो धुमिल उज्यालामा
यो हुन नपर्ने जेसुकै हुन सक्ने अनिश्चिततामा
कुन वीभत्सबाट झिक्नु सुन्दरता, र लेख्नु कविता !
 
जताततै प्रलय छरिएको यस घडीमा
अरण्यरोदनभन्दा
सहरको विक्षिप्त मुस्कान ज्यादा हृदयविदारक छ ।
 
मान्छेको आधिपत्य भएको यस धर्तीमा
मान्छे हुनु कति विषम, कष्टकर र पीडादायक ?
बाँच्न खोज्नु कति बोझमय, असुरक्षित र विदीर्ण ?
कति दुष्कर
कति कठिन
कति वीभत्स यो समय ।
 
तर
चाहे भोक खाएर रोग बाँचोस्
चाहे घाम ओढेर ताप बाँचोस्
चाहे हिउँ सुतेर जाडो बाँचोस्
चाहे अभाव पिएर मृत्यु बाँचोस्
एकपल्ट मान्छे भइसकेकाले
मान्छे
बाँचुन्जेल मान्छे हुन विवश छ
र अभिशप्त छ
कहिल्यै मान्छे हुन नपाउन ।
 
संवेदन ओडार पसेको यस बेला
यस्ता आपसमा झगडा गर्ने सत्यहरू बटुलेर
केके नबनाउनु ?
 
समयले सर्वाङ्ग नग्नता ओढी निदाएको यस घडी
कालो अक्षर पनि रातो देखिन्छ
निलो अक्षर पनि रातो देखिन्छ
रगतले भिजेको यस धर्तीमा
पसिनाको अक्षर पनि रातो देखिन्छ ।

स्वयम्भूका आँखाहरूले
टुलुटुलु हेरेर मात्र के गर्नु ?
परेवाहरू उड्‍न सक्दैनन्,
बारुदका राता बोझहरूले थिचिएर ।
 
सर्वे भवन्तु सुखिन:, खै सुख?
माप्र गाम: पथो वयम्, खै बाटाहरू ?
बिस्‌मिल्लाह इर रहमान इर रहीम !, खै के शुरू गर्नु ?
 
यो प्रलय पोखिएको बेलामा
शान्तिको एउटा शब्दले के गर्नु ?
 
यो असुरक्षित जीवन र मृत्युको मध्यान्हमा
मान्छे खोज्दै छ, आफूभित्रबाट निस्किभागेको मान्छेलाई
मृत्युको असुरक्षित हाटमुनि ओच्छिएर ।
 
आत्मा निस्किभागेर बाँकिरहेका
खोक्रा मान्छेहरूको यो भीडमा
जे सुकै मृत्यु बनेर उभिएको छ ।
 
यस्तोमा सुरक्षाविहीनता नै सुरक्षा हुन सक्छ,
जहाँ
एउटा सुरक्षित मृत्यु मर्न सकिन्छ ।

यस्तो बेलामा
लेखिइहाले पनि
मृत्युको कविता लेखिन सक्छ ।
फुरिहाले पनि
निरीह जनता र असक्षम शासनका षडयन्त्रहरूको कविता फुर्न सक्छ,
भोक र रोगहरूको कविता फुर्न सक्छ,
नाङ्गा आङ् र रुन्चे हाँसोहरूको कविता फुर्न सक्छ,
र फेरि एक छाल मृत्युहरूको कविता फुर्न सक्छ ।

मलाई जीवनजस्तै बाँच्न पाउने जीवनहरूको कविता लेख्ने मन छ ।
 
समय मृत्युमा चढेर दौडिरहेको यस क्षण
कुनै कविता फुरिरहेको छैन ।