कविता फुरिरहेको छैन – २ / सुमन पोखरेल
यसबेला कविता फुरिरहेको छैन,
तर मलाई कवितै लेख्न मन लाग्यो ।
यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरू छन्,
मलाई रुँघेर उभिइरहेका भित्ता र झ्यालहरू छन्
मनजस्तै पग्लिनै लागेका चिठ्ठी र
कसैलाई सम्झिएर टोलाइरहेझैँ लाग्ने तसवीरहरू छन् ।
यसबेला यहाँ, यहाँ नभएका चिजबाहेक सबैथोक छन् ।
तर तिनलाई बिथोल्न मन लागेन ।
मलाई मैनबत्ती वा रेडियो लेख्न मन लागेन
टेबुल, कलम र कागज लेख्न मन लागेन,
कविता लेख्न मन लाग्यो ।
धर्तीको यस केस्रामा
पढ्ने फुर्सद छैन, गिट्टी फुटाउन छोडेर;
सोच्ने जाँगर छैन, भोकलाई ओच्छ्याएर;
सुमधुर बोल्ने धैर्य छैन, नारा र जुलुस थन्क्याएर;
केही लगाउने खाँचो छैन, राजनीति फुकालेर;
बाँच्ने फुर्सद छैन, जीवन घिसार्न बिसाएर ।
यस अन्योलमा,
गिट्टी फुटाउँदाफुटाउँदै आफैँ फुटेका जीवनहरूको कथा लेखिएला,
आजीवन नाङ्गै बितेका समयहरूको निबन्ध लेखिएला
दिनभर जीवन खोजी नभेटेर
राततिर फर्किँदै गरेका लखतरान साँझहरूका उपन्यास लेखिएला,
सौन्दर्यले सिँगारिएको कविता जन्मने छाँट छैन ।
समयले वीभत्सरसको नाटकमा नुहाइरहेको बेला
कसरी जन्मियोस्, सुकोमल युगको कविता !
अविवेकको हण्डी टाउकामा ओढेर
छेक्न सकिँदैन अनियन्त्रित बगेको अव्यवस्थाको बौलाहा बाढीलाई,
निर्लज्जता र मुर्ख्याँइँ चपाएजस्तो सजिलो छैन
भत्किएको समयका टुक्राहरू चपाउनलाई ।
यस्तोमा फेरि एक विदीर्ण कालखण्डको प्रलाप लेखिएला बरु,
उल्लासको मिठासले भिजेको कविता केही गरी फुरिरहेको छैन ।
मलाई,
जीवनमय उमङ्गहरूको धुनमा नाचिरहेको युगको कविता लेख्ने मन छ ।
सृष्टिका सौन्दर्यहरू एकएक गरी पलायन भइरहेको यस धर्तीमा
यसबेला कुनै कविता फुरिरहेको छैन ।