मेरो कविता तिम्रो आँखामा प¥यो?
कतै च्वास्स छोयो? के छुन्थ्यो,
कविता सारी भए पो हुन्थ्यो।
तिम्रो दृष्टिकोणबाट हेर्दा त म
त्यसै समय बिताइरहेछु
दालभात बुत्याइरहेछु।
तिमी नै भन, के लेख्ने–
आलु–भन्टा, कन्डोम लेख्ने?
जताततै दुर्गन्ध छ लेख्ने?
आज नेपाल बन्द छ लेख्ने?
के लेख्ने? जवाफ छ?
सबै मूक दर्शक, सबै मौन
दुर्भावना नभैकन मौनता हुन्छ?
कविता कुनै हस्तकला त होइन नि
निगालो काटेर डोको–डालो बुनौँ।
त्रस्त आशामा उनेर सजाएको छु
कविताका कुसुमहरु।
तिमी मृत्युको अवज्ञा गर्न सक्छौ?
मेरो कविता सक्छ
मेरो कविता बौद्धिक शोषण प्रतिकार गर्छ
पीडा र श्राप सहन्छ
यो कालको अभिशाप सहन्छ।
अब त छोयो? के छुन्थ्यो,
कविता सारी भए पो हुन्थ्यो।