भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कागतीको बोटमुनि एउटा अमिलो छाया खस्दथ्यो / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रत्येक पाइताला जब भासिन्छ
बाटो भत्किन्छ र यात्रा खाल्डोमा परिणत हुन्छ !

फगत जून र ताराहरू मात्रै सकिँदैन आकाशबाट
केही मृत यादहरू पनि सकिन्छ ।

धर्तीबाट उठेर आएका आशाका सुगन्धहरू - जम्छ
बादलमा ठोकिन्छ / चक्नाचुर हुन्छ
र वर्षातमा परिणत हुन्छ ।

वर्षा - अग्निमा परिणत हुन्छ
तप्त अग्नि आइमाईमा परिणत हुन्छ ।

एउटा अनौठो आँधी उठ्छ
एउटा अनियन्त्रित उत्तेजना बग्छ ।

जल्छ - खरानी हुन्छ र सकिन्छ ।

कसैले अनुमान लगाउन सकेको छैन
किन यस्तो हुन्छ ?

हुन त प्रत्येक आइमाईहरू विवाहपछि
यस्तै हुने गर्छन्
कतै स्मृतिमा छुटेकी उदास बच्ची जस्तै !

छिया / छिया तिनको हृदयमा कुनै उत्सव बाँकी रहँदैन ।

घाउ - पिप र पीडाले भरिएकी आइमाई
कल्पना गर्नुस्
कस्ती देखिन्छे ?
सत्यहरू यही प्रमाणित गर्छन्
प्रत्येक वर्ष कुनै न कुनै दिन
फेरि बिहान हुनेछ
यो सोचेर सुतेकी आइमाई कहिल्यै उठ्दिनन् !

अब त म पनि छिटो छिटो हुर्कंदै गइरहेकी छु ।

समय कति तिव्र गतिमा अगाडि बढ्छ
नछुट्नुपर्ने धेरै कुरा पछाडि छुट्छ ।

आमा छुटेजस्तै
आँशुको एक ढिक्का कतै छुट्छ !

अतित अस्तित्वको विशाल पाठेघर हो
आइमाईहरू सायद त्यतै मृत पुरिएका छन् !

सम्भवतः
म पुरिने ठाउँ पनि अन्तत: यतै हुनुपर्दछ ।

- यतै कतै खाल्डोमा !
जहाँ म सानी छँदा
कागतीको बोटमुनि मसँगै एउटा अमिलो छाया खस्दथ्यो !

०००