भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
काटिँदै गरेको बूढो रुख / आत्मा रंजन / सुमन पोखरेल
Kavita Kosh से
धारिला प्रहारहरूका बीचमा पनि
आश्वस्त छ जर्जर बुढो रुख।
उसको शरीरको
अन्तिम चोइटोले समेत
भरिदिनेछ स्वाद
सेकिने रोटीहरूमा
खरानी हुनुभन्दा पहिले,
उसको तापले
फर्काइदिनेछ ज्यान
मर्दै गरेको कसैको चीसो शरीरमा, भनेर ।
मान्छे मात्र हैन
जीवजन्तु र हावामाटोसँगसमेत जोडिएको
जीवन्त स्मृतिहरूको
नपढिएको एउटा किताब हो ऊ,
अङ्कित छन्
उसका शरीरमा जताततै
मौसमका अनेक रबैयाहरू।
काटिँदै गरेको बुढो रुख
त्यागेर
एउटा युगभरि टाँगिएको आफ्नो इतिहासलाई,
सोचिरहेछ
अण्डाबाट भर्खर निस्किएका
टोड्काभित्र धड्कनलाई जसरी जतन गरेका
बचेराहरूलाई च्यापेर छातीमा,
र
भइरहेछ उदास ।