भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कापुरुष / सरुभक्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कालो समय – १

महान्धकार देशमा महान्धकार घरका
महान्धकार कोठाहरूमा
कापुरुषहरू सुतिरहन्छन्
स्व:विवेकका अँध्यारा खाल्टा
जहाँ आफूले आफैलाई देख्न सकिन्न
कापुरुषहरू
अन्तरात्माका ढोकाहरू थुनिरहन्छन्
अन्तरात्माका झ्यालहरू थुनिरहन्छन्
अर्थात्
कापुरुषहरू
अँध्यारोमा बाँच्न अभ्यस्त हुन्छन्
ती दयालु हुन्छन्
त्यसैले खोसेर स्वर्ग चाहन्नन्
ती मायालु हुन्छन्
त्यसैले मागेर स्वर्ग पाउन्नन्
गोधूली – संसारदेखि टाढा टाढा
जहाँ क्षितिजहरू हुन्छन्, हुन्नन्
उनीहरूका ज्ञान–भूमि हुन्छन्
तर
कर्मभूमि हुन्नन् कतै ।
अँध्यारोमा जान्नेहरू भन्छन् :
‘कापुरुषहरूलाई अज्ञात वायुले सताएको हुन्छ ।’
यसर्थ
अँध्यारोमा अँध्यारा धामी बस्छन्
अँध्यारोमा अँध्यारा झाक्री जाग्छन्
कापुरुषहरू
अँध्यारोमा अँध्यारा परम्परा मान्दै जान्छन् ।
कापुरुषहरू
आवाजहरूदेखि झस्किरहन्छन्
कापुरुषहरू
सन्नाटादेखि झस्किरहन्छन्
कापुरुषहरू
आफैदेखि पनि तर्सिरहन्छन्
विद्रोहको आशङ्काले
हातखुट्टा बाँधिरहन्छन्
आँखा भएपनि
कापुरुषहरू अन्धा हुन्छन्
कान भए पनि
कापुरुषहरू बहिरा हुन्छन्
बोली भएपनि
कापुरुषहरू लाटा हुन्छन्
बुद्धि भएपनि
कापुरुषहरू अज्ञानी हुन्छन्
तर उनीहरू
सतीझैं पवित्र हुन्छन्
तर उनीहरू
अति झैं पवित्र हुन्छन्
तर उनीहरू
जीवनका संभावनाहरू
र संभावनाका संभावनाहरू लुकाइरहन्छन्
मानौं ती मनुष्यका पाप कर्म हुन्,
मानांै ती अज्ञात र कुमारी सम्पदा हुन्,
कापुरुषहरू
धनी देशका गरीब वासिन्दा हुन्नन्
गरीब देशका गरीब बासिन्दा हुन्छन्
तर उनीहरू
एक धनी आदर्श बाँच्छन्
र अनादर्शतापूर्वक
सहनुका सीमान्तहरू नाघिरहन्छन्
सैयौं सय पीडाहरू
हजारौं हजार अपमानहरू
र लाखौं लाख अन्यायहरू सहेर पनि
कापुरुषहरू शान्ति खोजिरहन्छन्
कापुरुषहरू शान्ति रोजिरहन्छन् ।

कालो समय – २

कापुरुषहरूको पनि कापुरूष
अर्थात् प्रतिनिधि कापुरूष
अन्धकूप कोठामा निदाइरहेको हुन्छ
जहाँ उसले मूल्य तिरेको शान्ति हुन्छ
वा बहुमूल्य भ्रान्ति हुन्छ
ऊ सँगसँगै
उसका ज्ञानेन्द्रियहरू निदाइरहेका हुन्छन्
उसका कर्मेन्द्रियहरू निदाइरहेका हुन्छन्
संभवत:
उसलाई मोहभङ्ग निन्दा लागेको हुन्छ
कालो सपनामा
ऊ धवल हिमालहरू देख्न सक्दैन
सभ्यताका दुर्दमनीय उपत्यकाहरू देख्न सक्दैन
शश्यश्यामल तराइको पेटी बाँध्न सक्दैन
चुरेको टुप्पोमा अड्काएर,
उसको ऐंठन – सपनामा
ज्योर्तिलिङ्ग उत्पन्न हुँदैन
न बुद्धहरूको आगमन हुन्छ,
कालो सपनामा
ऊ शान्तिका महान गाथाहरू बुझ्न सक्दैन
न वीरताका गौरवगाथाहरू बुझ्न सक्छ,
संभवत:
ऊ सँगसँगै
स्मृतिहरू सुतेका हुन्छन्
दृष्टिहरू सुतेका हुन्छन्
सृष्टिहरू सुतेका हुन्छन्
कापुरुष
जन्मेको क्षणदेखि नै
अविराम सुतिरहेको हुन्छ
कुम्भकर्णलाई बिर्साएर,
मानौं उसका लागि
जीवन निन्द्रा हो
र निन्द्राभन्दा बढी केही होइन,
मान्छेहरू भन्छन् –
कापुरुष सतिले सराप दिएको
अभागी देशमा जन्मेको हुन्छ
नाम
सर्वनाम
धर्म
र लिङ्गविहीन
प्रतिनिधि कापुरुष
विरूपाक्ष र विरूपाक्षको देशमा
जन्मेको हुन्छ !