कालो सूर्योदय सेतो सूर्यास्त / नोर्देन रुम्बा
अँध्यारो भयो भनेछ आकाशले
ताराहरू, जून पनि
एक बथान कागहरू कराउँदै गए
निकाल भनेँ मैले आगोहरू
कोही बेला लाग्छ
कोही उठेनन्, भाले बास्दा पनि कोही उठेनन्
कोही बेला लाग्छ
केही लैलाक ल्याउँ र हेरिरहुँ
आजकल खराब भएको छ'रे जमाना पनि
आजकल बेग्लाबेग्लै हिसाब गर्नुपर्छ मान्छेसँग
आजकल त पैताला पनि बिक्री हुन्छ अरे
खिया परेको पैताला पनि
बिजुलीको खम्बामुनि बसेर म सोँच्दैछु अँध्यारो
बादल छैन, सफा छ, आकाश र घाम लागेको छ
चिसो घाम एउटा रोगी घाम लागेको
तर सोच्नुपर्दैछ त्यो अँध्यारो
जब युद्धहरू हुन्छन, जहाँ व्यर्थका क्रान्तिहरू हुन्छन्
जहाँ बाबु हुँदैन, आमा हुँदिनन्, छोराछोरीहरू हुँदैन,
जहाँ मात्र बारुदहरू हुन्छन्, बन्दुकहरू हुन्छन्
सोच्दैछु त्यो एउटा मैला अँध्यारो जहाँ हत्याहरू हुन्छन्
आत्महत्याहरू हुन्छन्
उज्यालो त ढाडमा लागेकै छैन
म आजभोलि यसैले घाम खोज्दैछु
कति जाग्नु कति फेरि निदाउनु, कति पोलिनु
कति पेलिनु कता कता सोँच्दैछु अहिले
डढाए धेरैचोटि आफ्नो फोक्सो पनि रक्सीले
गलाएँ पनि कलेजा त्यस्तै पानीले
त्यहीकारण सोच्दैछु यो जिन्दगी के हो भनेर
मेरा बाबु किन मरे भनेर
साथीभाइहरू किन त्यतिसम्म स्वार्थी हुनसक्छन् भनेर
यो रातो किन साँझ
यो रातो किन फुल्छ गुराँस जहिले पनि
म त रगत देख्छु
म त सिन्दुर देख्छु
छर्केको गाईको टाउकामा
बाख्राको छात्तीमा
म त छर्केको देख्छु सिम्रिक
हिसाबकिताब गरेर
अरूका आँखाआँखामा
बिस्वाद लाग्दछ नभन्दै
हृदयको कुनै कुनातिर
म त हिजो जन्मेको मान्छे
अस्ति जन्मेकाले के गर्यो
बिस्वाद लाग्दछ
म त छोटोबाबुको छोरो
बढाबाबुले के गर्यो र उसको छोराले पनि
यो भीरपाखा
यहाँको डाँडापखेरादेखि लिएर
यहाँको मैला भित्तासम्म
ढोगेँ मैले
बार्सिलदेखि लिएर
घाम झुल्किनुपर्छ भने
डाँडा पनि देखेँ मैले
यति नै हो जिन्दगी?
कि जहिले पनि तिम्रो बन्दगीमा बस्न पर्ने ?
कि जहिले पनि तिम्रै सेवा गर्न पर्ने ?
हाम्रो आत्मा छैन ?
संसारलाई देख्ने हाम्रा आँखा छैनन् ?
हाम्रो समय छैन
एकपल्ट एउटा कथा भएको थियो प्रोमिथियोसको
चोरेर ल्याएको थियो'रे जुपिटरबाट
आगो एउटा उज्यालो
किन भनेर भन्दा त्यो टैटानले
यो अँध्यारो भा'को संसारलाई
एकपल्ट झिलिमिली पार्छ कि भनेर भनेछ
संसारमा आगो थिएन, उज्यालो थिएन
त्यो प्रोमिथियोसलाई ककेससमा टँगाएर मार्यो
सलाम छ देवतालाई सलाम छ ज्यूसलाई
रित्तो छ जिन्दगी साथी, रित्तो छ जम्मै कुरा
अब त जिन्दगी पनि एउटा गिलास मात्र भयो
एउटा भुलेको आवाज मात्रै भयो
बेहोस् बेहोस् एक थोपा आँसु
म कता जान्छु, मरेभरि थाह छैन
तिमीले सोध्यौ नि अन्त चैँ भनेको
यो ठाउँमा मैले घुँडा घसेर हिँडेको
मैले लडाइँ लडिनँ, मैले चट्टान फोडिनँ
मैले रुख पनि काटिनँ, घाँस पनि काटिनँ
मैले आँखाले कोहीबेला फुलेका ताराहरू हेरेँ
कोहीबेला आकाशमा उठेको जून हेरेँ
कोहीबेला धूप्पीका बोटहरू हेरेँ
कोहीबेला उत्तीसका घारीहरू हेरेँ
कोहीबेला मेरै घरको छेउको मायालाग्दो खोला हेरेँ
अब सोच्दैछु म कता बगुँ।
क्रान्ति गर्नुपर्छ भन्ने कुरा गर्थ्यौ तिमीले
भत्काउनु गिद्देको पहाड, कि रेलिनु कसैको खोलामा
तिमी म कहाँ हरायौ एउटा झ48डा बोकेर
एउटा पाम्पलेट लिएर
तिमीहरूमा खुकुरी पनि थिएन खुँडा पनि थिएन
धुनु पर्ने टिस्टामा कि रङ्गीतमा
क्रान्ति गर्छु भन्थ्यौ तिमीले
बोलिवियाको जङ्गल नै चिनेका छैनौ रहेछौ
तिमी कहाँ हरायौ, म त खोज्न पनि सक्तिनँ
पुलिस लगाउनुपर्छ होला सायद
तिमी खोज्न, एउटा लामो उज्यालो हुनपर्छ होला सायद,
मलाई पनि त माया छ, हाम्रो, हामी सबैको
किनभने मुटुभरि धूप्पी, हिमाल, गुराँसको छाया छ
सूट, टाई, ह्याट र त्यो चौरस्ताको घमण्डीपना
मात्र प्रशस्त होइन नि
त्यहाँदेखि पर पनि त छ महाकालधाम
त्यो सोझो बन्दुक छोडेर कहाँ भाग्यौ
कि विदेशतिर लाग्यौ
तिमी एकान्तको युग हो
यो कता कता आवेगको युग हो
वलपुरगिनेट, क भनुँ भन्थेँ तिमीलाई
म सायद (व्लाडिवसकट) लैजाउ भन्थेँ तिमीलाई
कि टिमवक्टु,
मलाई त आँसुहरूले छोडेनन्
मेरो विचारका ढुङ्गाहरू कसैले फोरेनन्
ती पर डाँडाहरूबाट मैले तिमीलाई हेरेँ
त्यो हिमालको चेपबाट पनि मैले तिमीलाई हेरेँ
देखिनँ र अहिले खालि हेर्दैछु
तिमी कहाँ गयौ भनेर।
कथा एउटा भनुँ भनेर सम्झिँदै थिएँ
हेरेँ दलिनमा, पर चारकुनाको झ्यालमा
हेरेर वास्तवमा कहीँ पनि नपुगिने सडकमा
हेरेर रित्तो भत्किसकेको, पिल्सिङ पाएर पनि
के के पर्खिरहेका गल्लीहरूमा
नयाँ झण्डाहरू टाङ्ने औंलाहरूमा
कथा एउटा भनुँ भनेर सम्झिदै थिएँ ।