किन रात बित्दैन? / दैवज्ञराज न्यौपाने
हिजो बेलुकी सुत्ताखेरिका घटनाहरू
कति टाढा टाढा पुगेर
सबै अतीतको अन्धकारमा बिलिइसके,
यो जीवनको लामो पथ
यस्तै त हो नि,
यहाँ के सधैँको सोख छ र?
रात आउँछ, दिन जान्छ,
दिन आउँछ, रात जान्छ,
मृत्यु र जीवनको आलोपालो
घाम र पानीको संसार
रिस र प्रेमको दुनियाँ
वसन्तको रातजस्तै शरदको रात होइन,
हिजोको दिनजस्तै आजको दिन होइन,
तिमी नसम्झ
अब फूल फुल्दैन,
साँझ गयो तब त बिहान हुन्छ,
जीवनमा अर्कै फूल फुल्छ,
अनि किन रात बित्तैन,
हिजोजस्तै, अस्ति जस्तै
आजका यी सपनाहरू
किन बेग्लै छन्,
ओछ्यान उही हो,
सधैको झैँ सुत्ताको नियम उही हो,
यी घडी र पलाहरू सबै उनै छन्,
त्यो आकाश, ती तारा ठीक उस्तै छन्,
तर त्यहाँ उल्लास थियो,
यहाँ विस्मात छ,
यसैले त्यो रातभन्दा यो रात लामो छ,
त्यहाँ सुखको निद्रा थियो त
यहाँ विस्मातको उच्छ्वास छ,
जे होस् समयको चाल चल्छ,
रातपछिको दिन बल्छ,
सबै यो मलाई थाहा छ,
किन रात बित्तैन?