भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किरणहरुको खेलभूमि / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखीझ्यालबाट कोठाभित्र छिरिरहेका
ट्युवलाइटझैं
घामका किरणहरु
समात्न खोजिरहेको छ मेरो सानो छोरो
जसरी मा समात्न खोजिरहेको छु उसको बगलमा
कविताका त्यतै किरणहरु !

सोचिरहेछु –
उसले लठ्ठीझैं समात्न रहर गरेको
र समातेर खेल्न खोजिरहेको घामका किरणहरु
त्यहीं कतै उपस्थित छ जीवनको निख्खर अर्थ !

सोचिरहेछु –
किरणहरुको खेलभूमिमा
मैले पक्रिन खोजिरहेका र परपर सर्दै गइरहेका कविताका क्षितिजहरु
त्यहीं कतै उभिएको छ कविताको छायाँ !

असफलतासँग निस्फिक्री जिस्किएर
छोरा सङ्घर्ष गरिरहेको छ
किरणहरूको लठ्ठी समात्न
र त्यसलाई टेकेर धर्तीमा उभिन

ब्यस्त छु म
कविताका छायाँहरू पक्रन र त्यसलाई लगेर कसैको हृदयमा टाँग्न

सोचिरहेछु
जीवन अरु कुन बेला यति सुन्दर देखिन सक्छ ?