कुखुरी काँ / सुमन पोखरेल
ठूलो स्वरमा बर्बराउँदै कसैको आदेश मान्नु ठीक
वा
सानो स्वरमा कसैलाई हप्काउनु ठीक?
मलाई
रेडियोले पनि केही सिकाएको हुनुपर्छ ।
एउटाले
तितरबितर पारेर मलाई
समेटिने कामना गरिटोपलेजस्तो ।
पारि पाखामा डढेलो लगाउनेहरूले
के सोचे खै कुन्नी ?
चिसो रातमा
कोठाभरि चिसो भए पनि
मनभरि आगो लागे जस्तो ।
नूनमा अलिकति माटो मिसियो कि?
या मिसियो हिउँमा आगो?
उक्सूँउक्सूँझैँ
भत्किऊँभत्किऊँ झैं
बगूँबगूँझैं
अडूँअडूँझैं
ओसिऊँओसिऊँझैं
तातिऊँतातिऊँझैं ।
शायद
अन्तरद्धन्दमा नै बाँच्दा हुन्
यी पहाड र नदीहरू
पहार र सिरोटाहरू ।
किन विरोधाभास छ
हरेकका छातीहरूमा
किन अपरिभाषित छ जीवन
हरेक अस्तित्वहरूमा ?
एउटा जीवनलाई ओछ्याएर
अन्धकारको आकाशमा
कहाँ खोजूँ
मेरा बाँकी जीवनहरू?
उकालीमा?पसिनामा?
ओछ्यानमा?कलममा?वा सपनामा?
कि खोजूँ तिर्सनामा ?
सङ्कुचित बनाउँदै आफूलाई
आफ्ना आवश्कताहरूबीच
अझै कति घटाऊँ
म आफूलाई?
अझै कति हराऊँ म
आफूलाई?
एउटा परिवेशले
झण्डा नदिइकन
खोसेको छ मेरो
इच्छालाई।
भोक मार्नुको सट्टा
मेरो मुख र पेटको दूरी
बढाइदिएको छ अपरिमेय समय-पाइलाको दूरीमा
मेरो हिँडाइले, सबैको हिँडाइले ।
मानिसहरू बोलिरहेका छन्
रेडियो पनि बोलिरहेको छ ।
बिहानको यो समयमा
सुन्ने फुर्सत छैन धेरैलाई;
एउटा भाले कुखुरो र
दुईटा छाउरा कुकुरका, मात्र
सुनिरहेछन् ध्यान लगाएर ।
एकछिनमा
उठेर हिँडने छन् आमातिर
ती छाउराहरू,
र
भाले कुखुरोले
तर्साउने छ तिमीलाई...
कुखुरी काँ!!