भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुनैबेला म पनि एउटा प्रेमी थिएँ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नदीसँगै बग्ने नदी थिएँ
गतिशील छाल - तरङ - बहाव थिएँ !

नअस्ताउँने घाम
झिल्मिल इन्द्रेणी
पूर्णिमाको जून थिएँ !

वर्षायामको घनघोर वर्षा
हुरी / बतास र / तेज आँधी थिएँ !

सपना देख्ने आँखा थिएँ
भाव बुझ्ने हृदय
र प्रेम सम्झिने मस्तिष्क थिएँ !

फुलसँगै फुल्ने कोमल फुल थिएँ
पवित्र - नरम - स्निग्ध भावना थिएँ !

बोध थिएँ
बोधहरूको बोधार्थ थिएँ
पदहिन पदार्थ थिएँ
शब्दहरूको शब्दार्थ थिएँ !

अर्थहरूको अर्थ र चेतनाहरूको चेतना थिएँ !
के मात्रै थिइनँ र म त्यतिबेला -

वेगहरूको आवेग थिएँ
आवेगहरूको वेग थिएँ !
रङ्गहरूको रङ्ग थिएँ
उन्मादहरूको उमंग थिएँ !

अबोध - चञ्चल - एउटा मानिस थिएँ !
अहिले पो उदास पहाड भएँ
अहिले पो उजाड मौसम भएँ !

कुनैबेला म पनि एउटा प्रेमी थिएँ !

०००