कुलबधूका साथमा निवेदन / उमानाथ शर्मा पोख्रेल
आफ्नू पतिब्रत बचाउँन प्राणदिन्थे ।
जो दृष्टि दिन्छ उसकै कित प्राण लिन्थे ।।
यस्ता सती हरु थिये बुझ यो जगत्मा ।
उल्टा भयौ तिमीहरु किन यो बखत्मा ।।१३९।।
थर्काउँथे भुवन नै पति भक्ति द्वारा ।
सूर्याग्निचन्द्र डरथे निज शक्ति द्वारा ।
तेस्तै बनौं भनि विचार भये त मित्र ।
दृष्टान्त संझ उनको वन सच्चरित्र ।।१४०।।
राम्रो गराई गहना हरुले शरीर ।
खानू बसी बसि मिठो र हुनू अमीर ।।
आँखा नचाउनु कसै सँग बार बार ।
भन्ने खराब सगिनीकन दूर पार ।।१४१।।
आलस्यका वश परीकन काल फाली ।
आफ्ना जहान सँग बाझनु मात्र खाली ।।
यस्तो न जाति पछि दुःख दिने कुवानी ।
बस्ला भनेर डर राखनु पर्छ नानी ! ।।१४२।।
गाऊँ डुली न रहनू छिचरी भयेर ।
वेकाममा डुलि रहे जन जान्छ खेर ।।
सुघ्घर सफाइ घरको गरना निमित्त ।
स्त्री जातिले हरघडी दिनु पर्छ चित्त ।।१४३।।
अल्छी नमानि घरको सब काम गर्नू ।
कैल्यै कसैसँग पनि झगडा न गर्नू ।।
कैल्यै रिसाउनु हुँदैन हुनू हँसीली ।
बोल्नू जहान सँग भै बहुतै रसीली ।।१४४।।
ज्यादा न हाँसनु न बोल्नु कुरा न राम्रो ।
ढाँट्ने न गर्नु लिनु बानी अतीव राम्रो ।।
झोस् पोल् न गर्नु अरुको बुझ पर्छ धोका ।
झर्लान् पछी “किन भने” भनि आँसु थोपा ।।१४५।।
रोगी हुने गरि न खानु अतीव धेर ।
खाञ्चे भये पछि त जान्छ शरीर खेर ।।
सन्तोष राख्नु मनमा रहनू प्रसन्न ।
सन्तोष वाट सुख मिल्दछ अन्न धन्न ।।१४६।।
जुन्वोलिबाट अरुको मन दुख्न जाला
त्यस्तो न भन्नु न लिनु अति दुष्ट चाला ।।
साना ठुला धनि गरीब हरु सबै नै ।
“क्याबात् फलानी” भनि नामलिउन् सधैंनैं ।।१४७।।
चाहे सहोदर रहोस् अथवा पिताजी ।
एकान्तमा ति सँग वस्न न होउ राजी ।।
शुद्धैछ चित्त अघिता तर काम पापी ।
जुक्ती गरीकन फसाउँछ जाल थापी ।।१४८।।
हाँसी पराई तिर फर्कि न बोल्नु नानी ! ।।
विग्रन्छ चित्त यसले सब जानि जानी ।
आफन्त नै छत पनि जन दङ्ग पर्छ ।
कुन् वीर साधु उसका छलमा ठहर्छ ।।१४९।।
षट्शास्त्र दव्दछ भुलिन्छ बडो तपस्या ।
यस्तो अगाध उसको छ कडा समस्या ।
वैनी ! तसर्थ न दिनू उसलाई डेरा ।
विद्या विवेक हरु सैन्य लगाई घेरा ।।१५०।।
वस्नै न देउ मनमा लिइ होसियारी ।
त्यो दुर्विचार कन युक्ति गरेर टारी ।।
पायो त घुस्न रति मा भने बढेर
पार्ला विचल्लि सब यी परिणाम हेर ।।१५१।।
जाँदा कुनै वखतमा पतिजी विदेश ।
उत्ताउली किसिमकी हुनु छैन वेस ।।
श्रृङ्गार हो पति निमित्त भनेर जानी ।
साधारणै किसिमले वस अर्तिमानी ।।१५२।।
नाघ्यौ भने त कुलको स्थिति उम्तियेर ।
जाने छ मान धन धर्म सबै सडेर ।
आखीर रात दिन शान्ति न पाउँदामा ।।
पर्नेछ काल कन पर्खन लाई धामा ।।१५३।।
यो दुर्दशा सहि न शक्नु यहाँ विहोरी ।
पीडा खपी नरक को यहिं आइ फेरी ।
दुःखी जनावर भई कन धेर काल ।
पर्नेछ बस्न बुझयो पछिको हवाल ।।१५४।।
के काम गर्न तिमी ले नरजन्म पायौ ।
संसारमा कुन प्रयोजन राखि आयौ ।।
यो जान्दछयौ कि बहिनी ! भन संझकाम ।
किम्वा यता सुन म भन्दछु सो तमाम ।।१५५।।
खाई न खाई जसरी तसरी रहेर ।
दुःखी सुखी भइ अनेक कुरा सहेर ।।
जो छन् जगत्पति महेश अनन्त शक्ति ।
तिन्मा निरन्तर लिनू परिपूर्ण भक्ति ।।१५६।।
वैनी जहान कन मात्र रिझाइ खाली ।
फोस्रा गुहेविषय ले सब आयु फाली ।।
सित्तै मनुष्य जुनि यो न विगार हेर ।
जान्छयौ पछी कुन कुरा सँगमा लियेर ।। १५७।।
धन्दा पनि सब विचार पुर्याायि भ्याऊ ।
साथै महेश पदमा मन यो भुल्याऊ ।।
यो मुख्य कामतिर नित्य विचार राख ।
बैनी ! तिमी पनि ठुलो सुखलाई चाख ।।१५८।।