कृष्ण आए हुन्थ्यो / दैवज्ञराज न्यौपाने
१. 
कुशल नेताको अभाव भएपछि 
यतिवेला नेपालको प्रजातन्त्र धरापमा परेको छ;
यहाँको पुरानो राजनीतिक पार्टीको वर्चस्व नभएपछि 
अरू दलका नेता योग्य भए पनि 
यसरी देश लथालिङ्ग हुने थिएन;
बिचरा उनीहरू पनि अब्बल देखिएनन् 
भोकले छट्पटिएका वेला हामी गरिब नेपालीहरू
कसैका फोस्रा नारामा विश्वास गरेर
आशै नभए पनि आशे बन्दै
आफूलाई चिन्न र बुझ्न नसक्ने
हामी भेडाहरू फगत केही बोका र बाख्राहरू
फोस्रा नाराका भरमा 
मनको लड्डु घिउसँग खाँदै
बफादार तावेदारी गर्छौं;
अलिकति आश्वासनको पुलाउ पकाएर
हामी उनीहरूको गुणगान गर्छौं,
ती छट्टु स्याल र ब्वाँसाहरू भने
हामीबाट हाम्रै भाग खोसेर
हाम्रो हक बोलेको अभिनय गर्छन्,
विवश र व्याकुल हामीहरू भने
अज्ञानताले उल्टै उनीहरूलाई स्याबास भन्छौं,
यसरी एकपछि अर्को र अर्को गर्दै 
स्वार्थी, लोलुप र कृतघ्नहरूले
धेरै पल्ट हाम्रा भोटहरू दुरूपयोग गरेका छन्।
२. 
बोकाहरूले दाइँ गर्न थालेको देखेपछि 
हो न हो यिनीहरूले पार लगाउँछन् भनेर
स्याल-हुँइय्याँमा लाग्नु
शायद हाम्रो पनि कमजोरी हो; 
क्षुद्र राजनीतिका जालमा फसेर
यति वेला हामी कसैसँग पनि 
विश्वास नगर्ने स्थितिमा छौं,
राजनीति गर्नेहरू भने-
'अझै हामीलाई विश्वास गर, 
हामी तिम्रो माग पूरा गर्छौं
तिमीहरूको भलाइ गर्छौं' 
भन्दै हाम्रो ज्यान खोसिरहेछन्।
३. 
यस्तै नाङ्गो नाच देखेर राजनीतिको 
एकदिन हाम्रा महाकविले 
प्रमिथस महाकाव्यमा भनेका थिए-
'सब सन्नीतिकी उपहास रीति, अनीति,
नीतिहरूमध्ये मैली, नाममात्रकी
शक्ति पिपासुहरूकी स्वार्थकी उपगीति
केवल शत्यावलम्बिनी दलकी अन्धलोक प्रसिद्ध सुरीति,
ज्ञातिघातिनी, पितृनिपातिनी 
भातृर्ध्वसिनी, रुधिरावतंसिनी',
अरू पनि यस्तै कुराहरू गरेर कवि भन्छन्-
'खान्छ बाबुले छोरो, छोरो चपाउँछ बाबु
यस्तै छ राजनीतिको गीति जगत्मा
हाय ! यही रीति'।
४. 
महाकवि देवकोटाको यो टिप्पणी बुझ्नेहरू भन्छन्-
हो उनले देश चिनेका थिए
देशले उनलाई चिनेनछ, पागल भन्यो;
नबुझ्नेहरू बुझ्नेलाई यसै भन्छन् 
अर्थदास कुर्सीका भोकाहरू यसै भन्छन्
प्रजातन्त्रको बलात्कार गर्नेहरू देखेर
कवि गोपाल रिमाल पनि पागल बनेका थिए,
हामी देवकोटाभन्दा पनि पीडित र 
कवि गोपालभन्दा पनि दुःखी
यो युगका विवश मान्छेहरू
दुःख मानेर पनि बस्न सक्तैनौं
दुःख नमानेर पनि बस्न सक्तैनौं।
५. 
भीष्म, द्रोण, कृपाचार्य र कर्ण हुँदाहुँदै पनि 
दुर्योधन र शकुनिहरू नाच्न थालेपछि 
विदुर नीतिको केही लाग्दोरहेनछ;
जहाँ धर्मराजको पनि हार हुन्छ
त्यहाँ अर्जुनको गाण्डीवले पनि केही गर्दोरहेनछ;
भीमसेनको गदाले पनि केही गर्दोरहेनछ
केही गर्दोरहेनछ गान्धारीका नेत्रकवचले पनि; 
'परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्'
अब त अर्को गीता बोकेर 
फेरि पनि 
कुनै कृष्ण आए हुन्थ्यो।
	
	