भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केटो र निमपत्ती : जिन्दगीको चौरस्तामा / दिलमान राई 'चोट'

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एकपल्ट फेरि हुरी चल्यो
धेरै–धेरै पत्करहरू उडाएर
कतै निर्माण सुरुआतको
कतै बर्बाद विपदाको
जिन्दगीको चौरस्तामा उभिएर
मुसुमुसु हाँस्दैछ
रूख निमपत्तीको।

यो वसन्त पालुवा लाग्ने याम
दुर्भाग्य । यही मौसम खडेरी आइदियो
निकै–निकै माथि उठ्ने सपना
डढेलोले निर्मम खाइदियो ।

सेक्नसम्म सेक्यो धरतीलाई सूर्यले
कालो माटो फाट्नसम्म फाट्यो गर्मीले
त्यसैले, उराठिलो बबुलका रूखहरूदेखि तर्सिएर
सबै निमपत्तीको फेदमा भेला हुन्छन्
रमिता हेर्न, चाख लिन, सुस्ताउन ।

अनि श्मशानको नीरवता चिर्दै
एउटा कालो, तन्नेरी
तर नाङ्गो केटो
दिनभरि भौँतारिएर
रात बिताउन आइपुग्छ
केटो असाध्य मातेको छ आज भोकले
अघाएर छेवैमा सुतिरहेको भुस्याहा कुकुरसँग
ईष्र्यामा गनगनाउन लागेको छ— त्यसैले।

एक हूल जुलुस उसलाई कुल्चँदै जाइदिन्छ
सरस्वतीपूजाको चन्दा माग्न निस्केका हुन्
वा भोटको चिट्ठा हत्याउन
केटालाई खुट्याउनै गाह्रो भइदिन्छ ।
 
आँकुरादेखि टाकुरा फुल्दै फूल
गलैँचादेखि फलैँचामा झर्दै फल
कतै सुर्तीभन्दा खरो
कतै मूर्तिभन्दा केही दरो
हर्ष–विषादको लक्ष्मणरेखा नाघ्दै
बितिदिन्छ पचासी साल ।

भित्तामा झुन्डिएको ‘दिल्ली सेट’
निकै तात्तिन्जेल बज्यो
खबरमा कम्पन थियो— थर्कमान
हानाहान र तानातानमा
चरक्क चर्केर— वर्तमान ।

अँध्यारोमा नदेखिने
तन्नेरी, कालोत र नाङ्गो केटो
भोकले र रोगले रुँदै थियो
हो, त्यस दिन जुन दिन
युवा वर्ष घोषित भएथ्यो।

आज निकै रौनक छाएको छ
निमपत्तीको छातीमा
एउटा छ्यासीको क्यालेन्डर
पसलेले थापेको छ,
बा–आमा भन्दै थिए
नयाँ कपडा पहिरेर
चोखो ह्दय लिएर
नयाँ बिहानीको उज्यालोसँगसँगै
गर्नुपर्छ स्वस्थ जीवनको शुभारम्भ ।

यो छाती ताक्ने होइन
छाती मिलाउने पर्व हो
यो क्रान्तिको होइन
शान्तिको वर्ष हो
तर—
केटाको भोको पेट बटारिन लाग्दा
 एउटा आन्दोलनको जन्म हुँदै जान्छ
उसका मुठ्ठीहरूमा
अद्भुत शक्तिको बारुद भरिँदै
अनि—
एक अँगालो हुरी चल्नासाथ
निमपत्तीका हाँगाहरू मच्चिन थाल्छन्
जिन्दगीको चौरस्तामा उभिएर ।