केशवलाई विर्तामोडमा नखोज्नुहोला / हिरा आकाश
ऊ यतिखेर
बर्खाको झरीबाट बच्न छानाको दुलो टाल्दै होला
ऊ यतिखेर
हतार हतार आँगनमा मङ्सीर भित्र्याउदै होला
हुनसक्छ ऊ यतिखेर
व्याज तिरेर साहुसँग थैली बुझाउने भाका माग्दै होला ।
दिनदशाको कुनै ठेगान हुदैन
हुनसक्छ बिमार छोरीलाई काखी च्यापेर
ऊ यतिखेर–
डाक्टर जँचाउन जाँदै होला
त्यसैले केशवलाई बिर्तामोडमा नखोज्नुहोला ।
ऊ देशको नागरिक हो
नागरिक मात्र होइन बिश्वको एउटा मान्छे हो
त्यसैले उसलाई भुगोल र गोलार्धले छेक्नु हुँदैन
सिमाना र चौहद्दीले घेर्नु हुदैन
यस धर्तीमा जहाँ पनि मान्छेको बस्ती छ
त्यहाँ यसलाई भेट्न सकिन्छ ।
हो यत्ति हो उसलाई दुःख छ
कि कतै लिजमा कतै मिसाइल्समा उसलाई
प्रक्षेपण गरिएको छ
हो यत्ति हो
उसलाई बहादुर बनाई भाडामा
आफु जस्तै मान्छे मार्न पठाएइको छ ।
पीडाले मर्माहत छ ऊ
कि मेघालयमा उसलाई बिदेशी भनी लखेटिएको छ
यस्तो घडीमा ऊ कतै
एकान्तमा बसी बस यही घाउ सुमसुम्याइरहेछ होला
यसैले उसलाई बिर्तामोडमा नखोज्नु होला ।
आजभोली त झनै उसलाई समस्याले पिरोलेको छ
एकातिर नामको समस्याले पिरोलेको छ
अर्कोतिर दामको समस्याले पिरोलेको छ
नानीहरूको समस्या त छँदैछ
पानीको समस्याले पनि पिरोलेको छ
पानीको देशमा
तिर्खाएर बस्नुपरेको छ उसले
शान्तिकामी देशमा
र भोग्नु परेको छ उसले
यी त उदाहरण मात्र हुन् उसका समस्याहरूका
यिनै समस्याहरूलाई
ऊ पाँडे भाइको मलामी गइरहेको होला
यसैले केशवलाई बिर्तामोडमा नखोज्नुहोला ।