केही क्षण उसको सम्झनामा / नोर्देन रुम्बा
उसले क्रान्तिको कुरा गर्थ्यो
छात्ती भरिने मीठो कुरा गर्थ्यो
ला...मो...
यात्राको चीनमा
माउत्से तुङको
उसले बोलिभियाको जङ्गलको कुरा गर्थ्यौ
होतिमिनको कथा भन्थ्यो मलाई।
जँघार जँघार हिँडेको भियतनाममा
संसारको सबभन्दा शक्तिशाली देशले
जूनमा फाँटमा, साना मसिना मानिसहरूसित
हार खाएको कुरा गर्थ्यो
रगत उम्लेको कथा भन्थ्यो
बन्दुकको सोतेको नयाँ रूप र तोप जलेको
कता कता आस्था भीरका उसकै सम्झनाका
...छाया छन्।
घरि बेथलेहम, घरि बेरुट,
घरि चिली, घरि प्रिटोरिया
जहाँ जहाँ पनि निर्धा निमुखा मानिसहरू छन्
तिनलाई मानचित्रमा देखाएर
तिनलाई तस्वीरहरूमा देखाएर
तिनलाई नयाँ नयाँ पुस्तकहरूमा देखाएर
आँखाभरि आँसु रसाउँदै ऊ बोल्दथ्यो
माझ माझमा मुटु गाँठो पार्दै,
कि गलामा साँच्चि नै उल्झेको गाँठो फुकाउन खोज्दै
उसले मलाई मेरो दीन हीन अवस्था सम्झाउन खोज्थ्यो।
हामीले सानो भए पनि क्रान्ति गर्नपर्छ,
छ वटा करङ काटेको मान्छे ऊ, क्रान्ति गर्न तयार
झण्डा लिएर खेतमा, बस्तीमा, बजारमा
हाम्रो उजेलोको निम्ति,
हाम्रो उन्नतिको निम्ति,
आज उनलाई म देख्दिनँ।
ऊ मेरो साथी हो, नमस्कार छ।
तर पनि म देख्दिनँ
उसको अरू बन्धुहरूलाई सोद्धा खबरै छैन
उसका स्त्रीहरूलाई सोद्धा,
पहाडतिर पसेको खबर कतै अन्तैतिर पसेको खबर पढ्छु
अब त एक्लै बस्न थालेको खबर पाउँछु
मलाई वास्तवमा रगत उम्लिने कुराहरू मनपर्थ्यो
मलाई रगत मनपर्थ्यो
मलाई सिस्नुहरू फाँड्नु मनपर्थ्यो
मलाई उसका कुरा, उसको मप्रतिको माया मनपर्थ्यो
तर ऊ हरायो।
खेतहरू त्यत्तिकै छोडेर
गाईहरू दाम्लोमै राखेर
आमाको, स्वास्नीको अलिकति सुन बन्धी राखेर
छोरालाई, केही नसिकाई, स्कुलमै छोडेर
ऊ हरायो...
तर, ऊ अभाग्यवश म स्वयं थिएछु ।